काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले बीमालेख धितो कर्जा प्रवाहबाट ७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेका छन्।
बीमा कम्पनीहरुले बीमितले कर्जा लिइसकेपछि तिरेको ब्याज रकमबाट आम्दानी गरेका हुन्छन्। बीमा कम्पनीहरुको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २६ प्रतिशतले बढ्न पुगेको छ।
बीमालेख धितो कर्जाको दायरा बढेसँगै बीमालेख धितो कर्जाबाट हुने आम्दानीसमेत बढ्न पुगेको हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीहरुले ६ अर्ब २४ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह गरी आम्दानी गरेका थिए।
सबैभन्दा धेरै नेपाल लाइफले २ अर्ब ९७ करोड रुपैयाँ आम्दानी गरेको छ।
त्यस्तै एलआईसी नेपालले २ अर्ब ३६ करोड रुपैयाँ, नेसनल लाइफले ८२ करोड रुपैयाँ, एसियन लाइफले ४२ करोड ९३ लाख रुपैयाँ, हिमालयन लाइफले ४२ करोड २२ लाख रुपैयाँ र सूर्यज्योतिले ३३ करोड २७ लाख रुपैयाँ आम्दानी गरेका छन्।
यसैगरी राष्ट्रिय बीमा संस्थानले १८ करोड ९ लाख रुपैयाँ, मेट लाइफले १५ करोड ८९ लाख रुपैयाँ, सिटिजन लाइफले ५ करोड २४ लाख रुपैयाँ, आईएमई लाइफले ५ करोड ३८ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले ३ करोड ७२ लाख रुपैयाँ, सानिमा रिलायन्सले २ करोड ७२ लाख रुपैयाँ, सन नेपालले २ करोड १७ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले ९० लाख रुपैयाँ बीमालेख धितो कर्जाबाट आम्दानी गरेका छन्।
बीमा प्राधिकरणद्वारा जारी निर्देशिकाबमोजिम बीमा कम्पनीहरुले बीमालेख धितो राखी कर्जा प्रवाह गर्दा वाणिज्य बैंकहरुको तोकेको ब्याजदरभन्दा बढी नहुने गरी बीमा कम्पनीको सञ्चालक समितिको स्वीकृति लिई निर्धारण गर्न सक्ने व्यवस्था रहेको छ।
हाल बीमा कम्पनीहरुले आ–आफ्नै तरिकाले ब्याजदर लिइरहेका छन्। तर, अधिकांश कम्पनीले अधिकतम १० प्रतिशतसम्म मात्रै ब्याजदर तोकेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19