काठमाण्डौ । नेपाल बीमा प्राधिकरणअन्तर्गतको शैक्षिक संस्था इन्स्योरेन्स इन्स्टिच्युट नेपालले बीमा कलेज सञ्चालनको प्रक्रिया अघि बढाएको छ। 

प्राधिकरणले बीमाको विकास, अध्ययन अनुसन्धान गर्ने र व्यावसायिक जनशक्ति उत्पादन गर्नका लागि बीमा कलेजको स्थापना गर्न गृहकार्य चाल्दै आइरहेको छ। पूर्वअर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८०को बजेट घोषणामा बीमासम्बन्धी कलेज निर्माणमा प्रोत्साहन गरिने बताएका थिए। 

इन्स्योरेन्स इन्स्टिच्युट नेपालले बीमा विषयमा स्नाकोत्तर तहको अध्यापन गराउन उच्च तहमा कार्य भइरहेको जनाएको छ। इन्स्टिच्युट स्रोतका अनुसार पोखरा विश्वविद्यालयमा बीमा विषयमा स्नाकोत्तर तहको अध्यापन गराउनका लागि सबै डकुमेन्टहरु पेस गरिसकिएको छ। 

युनिभर्सिटीको नोटिसअनुसार सबै डकुमेन्टहरु पेस भइसकेको र बीमा कलेज चाँडै सञ्चालनमा आउने स्रोतले बतायो। यसका लागि प्राधिकरणसँग समेत सम्बन्धन भइसकेको इन्स्टिच्युटका एक अधिकारीले बताए। 

इन्स्टिच्युटका अनुसार बीमा कलेज सञ्चालनका लागि आवश्यक लगानी, जनशक्ति व्यवस्थापन, सम्बन्धन शुल्क, विद्यार्थी जुटाउने, पूर्वाधारलगायतका विषयमा अध्ययन भइरहेको छ। कलेजको सम्पूर्ण व्यवस्थापन र सञ्चालनका लागि भने इन्स्टिच्युटलले विशेषज्ञ टोलीलाई जिम्मेवारी दिने जनाएको छ।