काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार लुम्बिनी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बीमा दाबी भुक्तानी समयमै नदिई ढिलाई गर्ने बीमा कम्पनीहरूलाई कारवाही गर्न नेपाल बीमा प्राधिकरणसमक्ष आग्रह गरे ।

उनले बीमा दाबी भुक्तानी सजिलै गर्ने वातावरण तयार गरी बीमा क्षेत्रको गरिमा कायम राख्न पनि आग्रह समेत गरे ।यसैगरी, प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लुम्बिनी प्रदेशमा बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि प्रदेश बीमा नीति आवश्यक भएको भन्दै बीमा नीति निर्माणमा सहयोग गर्न प्राधिकरण तयार रहेको पनि बताए ।

अध्यक्ष सिलवालले भने, ‘बीमा सम्बन्धमा आउने गुनासा कम गर्न प्राधिकरणले नीतिगत र व्यवहारिक रूपमा कार्य गर्दै आएको छ, नागरिकलाई सहज रूपमा बीमा सेवा पुर्‍याउन जोड दिएका छौं ।’साथै अध्यक्ष सिलवालले बीमा दाबी शीघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रयास भइरहेको पनि बताए ।

यसैगरी, प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमाको महत्व, बीमा बजारको विद्यमान अवस्था, बीमा क्षेत्रको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिकालगायत बीमा सम्बन्धी विषयमा प्रस्तुती गरेका थिए ।  कार्यक्रममा सहभागीहरूले बीमा गर्न बीमा अभिकर्ता घर घरमा जाने तर दाबी भुक्तानी गर्न भने बीमा कम्पनीहरूले ढिलाई गर्ने गरेकोे, कृषि प्राविधिक र बीमा अभिकर्ताले पर्याप्त पारिश्रमिक नपाउँदा कुषि बीमा विस्तार नभएको तथा सबै तहसम्म बीमकका शाखा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । 

यसैगरी, बीमा कम्पनीहरूले अनिवार्य बीमाबाहेक अन्य बीमा गर्न नमानेको, लम्पीस्किन रोगका कारण क्षति भएका गाईभैंसीको बीमा दाबी भुक्तानी नगरेको, कोरोना बीमाको दाबी भुक्तानी नपाएको, दाबी भुक्तानी समयमा नपाउँदा बीमाप्रतिको विश्वसनीयतामा कमी आएको गुनासो सहभागीहरूले गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री, प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिवहरू, बीमा प्राधिकरणका कर्मचारीहरु र विभिन्न सरकारी निकायका पदाधिकारीहरूको सहभागिता थियो ।कार्यक्रम सञ्चालन बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले गरेका थिए ।