काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालका बीमा कम्पनीहरूले अन्तरराष्ट्रियस्तरमा राम्रो रेटिङ्ग भएका पुनर्बीमा कम्पनीहरूमा पुनर्बीमा गर्न सकियोस र बीमा दाबी सुनिश्चित हुन सकोस् भनेर आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । 

नेपाल बीमा प्राधिकरणद्वारा मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा उनले अन्तरराष्ट्रिस्तरमा राम्रो रेटिङ् भएका पुनर्बीमा कम्पनीहरूले न्यून बीमादरमा पुनर्बीमा स्वीकार नगर्ने र नेपालका केहि बीमा कम्पनीले ‘नन् रेटिङ्ग’ भएका पुनर्बीमा कम्पनीमा पुनर्बीमा गरेकाले कतिपय अवस्थामा दाबी रकम नपाउँदा बीमकबाट दाबी भुक्तानीमा ढिलाइ हुने गरेको पाइएको बताए । 

उनले सम्पत्ति बीमादर निर्देशिकामा करिब ९० प्रतिशतको बीमादर घटाइएको र जोखिमका आधारमा केहिको बीमादर मात्रै बढेको स्पष्ट गरे ।
अध्यक्ष सिलवालले बीमा कम्पनीले राम्रो रेटिङ्ग भएका पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न सकून र दाबी सुनिश्चित होस् भनेर अन्तरराष्ट्रिय सिद्धान्त र पर्याप्त अध्ययन समेतका आधारमा सम्पत्ति बीमादर निर्देशिका ल्याइएको बताए ।

उनले प्राधिकरणमा बीमितबाट आएका गुनासा एवम् उजूरीमध्ये ९५ प्रतिशत बीमितको पक्षमा फैसला भएको र प्राधिकरणका प्रादेशिक कार्यालयमा समेत दाबी सम्बन्धी उजूरी लिने व्यवस्था गरिएको बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीमा ढिलाई नगरी तोकिएकै समयमा दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको बताए ।

कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले उद्योगी तथा व्यवसायीले बीमा सम्बन्धि उठाएका जिज्ञासाको जवाफ दिएका थिए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सम्पत्ति बीमादर निर्देशिकामा प्लाष्टिक, प्लाइउड लगायतको बीमादर बढाइएको र सुरक्षण आवश्यक नभएकोमा समेत बीमा अनिवार्य गरिएको गुनासो गरेका थिए ।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले ‘कन्ट्रयाक्टर अल रिस्क’ बीमालेख महङ्गो भएको, बीमा कम्पनीहरूले दाबी भुक्तानी दिन ढिलाई गर्ने गरेको, आर्थिक संकटको हालको अवस्थामा बैंकको ब्याजदर घटाइए जस्तै बीमादरमा समेत राहत आवश्यक भएको बताएका थिए । 
कार्यक्रममा प्राधिकरणका कोशी प्रदेश कार्यालयका प्रमुख र उद्योग संगठन मोरङका पदाधिकारीहरू लगायत उद्योगी व्यवसायीहरूको सहभागिता थियो ।