काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले गत वर्षको कात्तिकमा बीमा ऐन, २०७९ बमोजिम बीमा सूचना केन्द्र स्थापना गर्ने परिकल्पना गरेपनि एक वर्ष वितिसक्दा पनि सञ्चालनमा ल्याउन सकेको छैन ।

प्राधिकरणले बीमा क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न बीमा सूचना केन्द्र स्थापना गर्ने अबधारणा ल्याएको थियो । बीमा सूचना केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको एक वर्ष वितिसक्दा पनि हालसम्म सञ्चालनमा आउन नसक्दा बीमा क्षेत्रमा ठगीका मुद्दाहरु झनै मौलाउँदै गइरहेको छ ।

यता बीमितहरुले दाबी भुक्तानी नपाएको गुनासो र बीमा कम्पनीहरुबाट दाबी भुक्तानी पाउन बीमितको हत्याजस्ता ठगीहरु मौलाएका छन् । प्राधिकरणले यस्ता ठगी नियन्त्रण गर्न बीमा सूचना केन्द्र स्थापना गर्ने बताएपनि सञ्चालनमा ल्याउन ढिला गरिरहेको छ ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विभिन्न सार्वजनिक कार्यक्रमहरुमा समेत बीमा सूचना केन्द्रको स्थापना गर्ने र प्रक्रियासमेत अघि बढीसकेको बताएपनि हालसम्म सञ्चालनमा आउन नसक्दा बीमित तथा ग्राहकहरुले आफ्ना गुनासो र जिज्ञासा सुनाउन पाएका छैनन् । यता प्राधिकरणका कार्यकारी निर्देशक राजुमरण पौडेलले भने बीमा सूचना केन्द्र स्थापनाको प्रक्रिया तीव्र रुपमा अघि बढेको बताएका छन् ।

‘हामीले बीमा सूचना केन्द्रको लागि बीमा कम्पनीहरुसँग लिखित राय मागिरहेका छौं’, उनले भने, ‘कम्पनीहरुबाट विभिन्न खालका सुझावहरु पनि आउने क्रम जारी छ, सबै कम्पनीको सुझाव समेटेर बीमा सूचना केन्द्र स्थापना गर्नेछौं ।’ केही कम्पनीहरुले हालसम्म पनि लिखित राय पेश नगरेको कारण बीमा सूचना केन्द्र स्थापना गर्न ढिलाई भएको पौडेलले बताए ।

‘सकेसम्म चाँडै सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ, यसको लागि सबै कम्पनीसँग हामीले सुझाव लिनुपर्ने हुँदा ढिला हुन पुगेको हो’, उनले भने । बीमा ऐन, २०७९ को दफा १४३ को उपदफा ४ मा बीमा सम्बन्धी सूचना संकलन गरी अभिलेख राख्ने, बीमा सम्बन्धी आवधिक प्रतिवेदन तयार गर्ने व्यवस्था छ ।

सोही बमोजिम नै प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना गर्न लागेको हो । बीमा सूचना केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रियामा अध्ययन भइरहेको पौडेलले बताए । 

प्राधिकरणले बीमा कम्पनीहरुसँगको सहकार्यमा बीमा सूचना केन्द्रको स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो । प्राधिकरणका अनुसार बीमा कम्पनीहरुको समेत स्वामित्व रहने गरी पब्लिक कम्पनीको रुपमा बीमा सूचना केन्द्र स्थापना गरिनेछ । केन्द्रको संगठनात्मक संरचना, स्वामित्व तथा कार्यविधि र आवश्यक निर्देशिकामा अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ । 

बीमा सूचना केन्द्र स्थापनाले बीमा क्षेत्रमा फैलिएको ठगी, जालसाजी, किर्तेलगायतका अपराध, अस्वभाविक वा शंकास्पद बीमा गतिविधि नियन्त्रण गर्ने प्राधिकरणले जनाएको छ ।