काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीले बीमा अभिकर्ताहरुलाई उपलब्ध गराउँदै आएको कर्जामा रोक लगाएको छ। 

समितिले बिहीबार बीमकको संस्थागत सुशासन निर्देशिका, २०७५ को पहिलो संशोधन जारी गर्दै अभिकर्तालाई नीतिगत रुपमै कुनै पनि किसिमको कर्जा प्रवाह गर्न रोक लगाएको हो।

यसअघि निर्देशिकामा जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमा समितिले समय–समयमा तोकेबमोजिम कर्जा प्रदान गर्न बाधा पुर्याएको मानिने छैन भन्ने प्रावधान थियो। यही प्रावधानलाई टेकेर जीवन बीमा कम्पनीहरुले तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्तालाई अधिकतममा ५० लाख रुपैयाँसम्म पनि बिना धितो कर्जा दिँदै आएका थिए। 

अभिकर्तालाई कर्जा प्रदान गर्ने व्यवस्था बीमा व्यवसायमा अनुत्पादक भएको निष्कर्षसहित बीमा समितिले निर्देशिकामा संशोधन गर्दै उक्त प्रावधान हटाएको हो।

त्यसो त गत असारदेखि नै बीमा समितिको निर्देशनमार्फत बीमकहरुले अभिकर्तालाई कर्जा सुविधा उपलब्ध गराउन बन्द गरेका थिए।