काठमाण्डौ। बीमा समितिले बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्रको छानबिन गर्ने भएको छ।

बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि बीमा समितिले छानबिन सुरु गर्ने भएको हो। ‘बीमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खानेहरुको संख्या ठूलो रहेको भन्ने सूचना पाएका छौँ, उजुरीहरु पनि परेका छन्’, बीमा समितिका एक अधिकारीले भने, ‘त्यसैले छानबिन गर्न लागिएको हो।’ 

ती अधिकारीका अनुसार परेका उजुरी र प्राप्त सूचनाका आधारमा बीमा कम्पनीहरुमा कार्यरत कम्तीमा २५ प्रतिशत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। ‘हामीले शैक्षिक प्रमाणपत्रका विषयमा गम्भीर भएर छानबिन गरिरहेका छौँ’, ती अधिकारीले भने। 

बीमा समितिले गत माघ २० गते नै सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै ७ दिनभित्र कार्यरत सम्पूर्ण कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाणपत्रको विवरण माग गरेको थियो। ‘प्राप्त शैक्षिक प्रमाणपत्रहरुमाथि छानबिन भइरहेको छ, नक्कली भेटिए कर्मचारी र सम्बन्धित कम्पनीमाथि कारबाही प्रक्रिया अगाडि बढाउँछौँ’, ती अधिकारीले भने।