काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजना केही दिनभित्रै सार्वजनिक गर्ने भएको छ।
समितिले जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको पुँजी वृद्धिका लागि योजना बनाउन करिब २ साताअघि सन्तोष रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। ‘उक्त कार्यदलले योजना तयार पारी बीमा समितिमा पेस गरिसकेको छ’, स्रोतले भन्यो।
अहिले कार्यदलले पेस गरेको योजनामाथि बीमा समितिमा अध्ययन गर्ने काम भइरहेको ती स्रोतको भनाइ छ। ‘अध्ययन पनि लगभग पूरा भइसकेको छ, अब बस्ने बीमा समितिको बोर्ड बैठकले बीमा कम्पनीहरुको पुँजी वृद्धिका योजनाहरु सार्वजनिक गर्नेछ’, स्रोतले भन्यो।
यसअघि बसेको बीमा समितिको बोर्ड बैठकले बीमा कम्पनीहरुको चुक्तापुँजीको सीमा भने प्रस्ताव गरिसकेको छ। जसअनुसार न्यूनतम चुक्तापुँजी जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ। हाल जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ रहेको छ।
यसअघि बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेल पनि अहिलेको अवस्थामा बीमा कम्पनीहरुको पुँजी कम रहेको बताउँदै पुँजी वृद्धि गर्नैपर्ने अवस्था आएको बताएका थिए। ‘आवश्यकता र जोखिमका आधारमा बीमा कम्पनीहरुको पुँजी वृद्धि गरिनुपर्छ’, बिजशालासँगको कुराकानीमा उनले भनेका थिए, ‘यस विषयमा हामीहरुले अध्ययन गरिरहेका छौँ, निकट भविष्यमै यो पुँजी वृद्धिको योजना ल्याउनेछौँ।’
बीमा कम्पनीहरुको पुँजीवृद्धिका लागि हकप्रद वा मर्जरको अप्सन दिइने स्रोत बताउँछन्। ‘मर्जरमा जान केही बीमा कम्पनीहरुले आपसमा छलफल सुरु गरिसकेका छन्’, स्रोतले भन्यो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19