काठमाण्डौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०८० जारी गरेको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणका लागि समेत लागू हुनेगरी वित्तीय विवरण निर्देशिका जारी गरेको हो । 

निर्देशिका अनुसार बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९–८० तथा सोपछिका आर्थिक वर्षहरुको वार्षिक वित्तीय विवरण यो निर्देशन बमोजिम तयार गर्नुपर्नेछ । जसअनुसार अब बीमा कम्पनीहरुले वित्तीय विवरणमा फाइनान्सियल स्टेटमेन्टको पोजिसन, प्रोभिट–लस, इक्विटी परिवर्तन, क्यास फ्लस, वितरणयोग्य मुनाफा जस्ता सूचकहरु समावेश गर्नुपर्नेछ । 

त्यस्तै, जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीले वित्तीय विवरण पेश गर्दा प्राधिकरणले तोकेको ढाँचामा वित्तीय विवरण तयार गर्नुपर्नेछ ।  साथै लघु बीमा कम्पनीले पनि ठूला बीमा कम्पनीले सरह नै वित्तीय विवरण तयार पार्नुपर्नेछ । 

साथै बीमा कम्पनीको कुनै सहायक कम्पनी भएमा सम्बन्धीत कम्पनीले कन्सोलिडेटेड वित्तीय विवरणको ढाँचामा सहायक कम्पनीको हिसाबकिताब समेटी वित्तीय विवरण तयार गर्नुपर्नेछ।

यसका साथै बीमा कम्पनीको वित्तीय विवरण (स्ट्याण्डअलन फाइनान्सियल स्टेटमेन्ट) र उपदफा (३) बमोजिमको वित्तीय विवरण (कन्सोलिडेटेड फाइनान्सियल स्टेटमेन्ट) लाई बीमकले छुट्टाछुट्टै देखिने गरी एकै वित्तीय विवरणमा प्रस्तुत गर्न सक्नेछ । 

यसका साथै बीमा कम्पनीले वित्तीय विवरण ढाँचामा कुनै परिवर्तन, परिमार्जन वा संशोधन गर्न पाउने छैन । साथै कम्पनीहरुले वित्तीय विवरणसँग विस्तृत लेखापरीक्षण प्रतिवेदन (लङ फर्म अडिट रिर्पोट) सहित लेखा परीक्षकको प्रतिवेदन संलग्न गर्नुपर्नेछ । 

त्यस्तै, प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत गर्दा तोकेको शर्त तथा दिइएका आदेश र सो सम्बन्धमा बीमा कम्पनीको सञ्चालक समितिको जवाफ संलग्न  गरी बीमा कम्पनीले वार्षिक प्रतिवेदन तयार गर्नुपर्नेछ ।