काठमाण्डौ । बीमा कम्पनीहरुको कुल लगानी १८.९५ प्रतिशतले बृद्धि भएको छ ।

गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म बीमा कम्पनीको कुल लगानी ६ खर्ब रुपैयाँभन्दा बढी रहेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म ६ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म बीमा कम्पनीहरुको कुल लगानी ५ अर्ब २७ अर्ब रुपैयाँ रहेको थियो । 

प्राधिकरणले बीमा कम्पनीहरुलाई लगानीको दायरा बढाउन जोड दिएसँगै बीमा कम्पनीहरुले मुद्दती निक्षेप, सूचीकृत कम्पनीको बण्ड तथा डिबेञ्चर, अग्राधिकार सेयर, बण्ड र डिबेञ्चर, सरकारी बचतपत्र र ऋणपत्र, म्युचुअल फण्ड र नागरिक लगानी कोष, अन्य संस्थापक सेयर, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा र जलस्रोतका क्षेत्रहरुमा लगानीको दायरा बढाएका छन् । 

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले मात्रै ५ खर्ब ६८ अर्ब १४ करोड ५८ लाख रुपैयाँ लगानी गरेका छन् भने निर्जीवन बीमा कम्पनीहरुले ५८ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ लगानी गरेका छन् । 

बीमा कम्पनीहरुले लगानी निर्देशिका बमोजिम नै लगानी गरी दायरा बढाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बीमा कम्पनीले मुद्दती निक्षेपमा नै बढी लगानी गरेका छन् । प्राधिकरणले बीमा कम्पनीहरुको लगानीको दायरा बढाउन लगानी विविधिकरण गर्न प्रोत्साहितसमेत गरिरहेको छ । बीमा कम्पनीहरुले लगानी गर्दा सुरक्षित र बीमितलाई रिटर्न दिने क्षेत्रमा लगानी गर्न प्राधिकरणले बीमकहरुलाई सल्लाह दिदै आइरहेको छ ।

तर, बीमा कम्पनीहरुको गत आर्थिक वर्षको अन्त्यसम्मको वित्तीय विवरणअनुसार बीमा कम्पनीले मुद्दती निक्षेपमा बढी लगानी गरेको देखिएको छ । प्राधिकरणले भने यसबाहेक भौतिक पूर्वाधार, पर्यटन, कृषि, विकास निर्माण जस्ता विभिन्न क्षेत्रमा समेत लगानीको दायरा बढाउन जोड दिइरहेको छ । बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा मात्रै कुल ४ खर्ब ८५ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेका छन् ।

जसमा जीवन बीमा कम्पनीहरुले मात्रै ४ खर्ब ३७ अर्ब ९२ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ४७ अर्ब ४४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेका छन् । 
 

जीवन बीमातर्फ :
जीवन बीमा कम्पनीको कुल लगानी ५ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ रहेको छ । सर्वाधिक जीवन बीमा कम्पनीले मुद्दती निक्षेपमा मात्रै ४ खर्ब ३७ अर्ब रुपैयाँ लगानी गरेका छन् । 

त्यस्तै, दोस्रोमा अग्राधिकार सेयर, बण्ड र डिबेञ्चरमा जीवन बीमकलले ४१ अर्ब १३ करोड रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, अन्य लगानी ३४ अर्ब १ करोड, सूचीकृत पब्लिक कम्पनीको बण्ड र डिबेञ्चरमा २१ अर्ब ९१ करोड, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ११ अर्ब ४७ करोड, अन्य संस्थापक सेयरमा ८ अर्ब ९१ करोड, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा र जलस्रोत क्षेत्रहरुमा ६ अर्ब ५९ करोड, म्युचुअल फण्ड र नागरिक लगाी कोषमा १ अर्ब ६५ करोड रुपैयाँ लगानी रहेको छ । 

त्यस्तै, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा ३१ करोड र सूचीकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीको सेयरमा २५ करोड रुपैयाँ लगानी रहेको छ ।
निर्जीवन बीमातर्फ :
निर्जीवन बीमा कम्पनीहरुको कुल लगानी ५८ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म निर्जीवन बीमा कम्पनीले सबैभन्दा बढी मुद्दती निक्षेपमा नै लगानी गरेका छन् । 

अन्य क्षेत्रमा लगानीको दायरा बढाउने प्रयत्न गरेतापनि बीमा कम्पनीको ८०–९०% लगानी मुद्दती निक्षेपमा नै हुने गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म निर्जीवन बीमा कम्पनीले मुद्दती निक्षेपमा मात्रै ४७ अर्ब ४४ करोड रुपैयाँ लगानी गरेको छ । 

त्यस्तै, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा २ अर्ब ८७ करोड, अग्राधिकार सेयर, बण्ड र डिबेञ्चरमा २ अर्ब ६७ करोड, अन्य संस्थापक सेयरमा २ अर्ब २७ करोड, अन्य लगानी १ अर्ब २८ करोड, सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेञ्चर र ऋणपत्रमा १ अर्ब ४ करोड, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ५६ करोड रुपैयाँ लगानीे छ । 

त्यस्तै, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा र जलस्रोत क्षेत्रहरुमा ४१ करोड ४७ लाख, सरकारी बचत र ऋणपत्रमा २२ करोड र सूचीकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीको सेयरमा ५ करोड रुपैयाँ लगानी छ ।