काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनी र बीमा सर्भेयर एकअर्काका परिपूरक भएकाले दुबै संस्थाले सानातिना समस्याहरू समाधान गर्दै विश्वसनीय ढङ्गले काम गर्नुपर्ने बताएका छन् ।

नेपाल बीमा प्राधिकरणद्वारा आइतबार आयोजित नेपाल बीमक संघ र नेपाल बीमा सर्भेयर संघसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘दुबै संघले एकले अर्कालाई बुझ्ने र सानातिना समस्या समयमै समाधान गरेर बीमा क्षेत्रलाई अघि बढाउन संयुक्तरूपमा पहल गर्नुपर्दछ ।’

बीमा गरिएका सम्पत्तिको क्षतिको प्रतिवेदन तयार गर्दा कुनै पनि बहानाबाजी नगरी मर्का परेका व्यक्तिले जे दिन्छन् त्यसैलाई आधार मानेर प्रतिवेदन तयार गरी समयमा नै पेश गर्न निर्देशन दिदैं अध्यक्ष सिलवालले बीमा सर्भेयरको विज्ञताका आधारमा कामको बाँडफाँट हुनुपर्नेमा जोड दिए । यसैगरी, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सर्भेयरले छिटोभन्दा छिटो प्रतिवेदन बुझाउनुपर्ने र बीमा कम्पनीले पनि प्रतिवेदन प्राप्त हुनासाथ सर्भे फि भुक्तानी गर्नुपर्ने बताए । 

नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमितको हक हित सुरक्षित हुनेगरी बीमक र सर्भेयरले काम गर्नुपर्ने बताए ।

यस्तै, नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सर्भेयरको संख्यामा भएको बृद्धिलाई चुनौतीका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने र बीमितलाई छिटो सेवा दिनुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक विरोध भट्टले बीमा सर्भेयर र बीमकसँग सम्बन्धित समस्या र समाधान सम्बन्धी प्रस्तुती गरेका थिए । 

यसैगरी, नेपाल बीमक संघका उपाध्यक्ष वीरेन्द्र वैदवारले बीमा सर्भेयरसँग देखिएका समस्या र समाधान उपाय तथा नेपाल बीमा सर्भेयर सङ्घका अध्यक्ष मोहन पुरूष ढकालले बीमा सर्भेयर र बीमकबीचको सम्बन्ध, सर्भेयर फि तथा नेपाल बीमा प्राधिकरणसँगको अपेक्षा सम्बन्धी प्रस्तुती गरेका थिए । 

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले सञ्चालन गरेको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र पुनर्बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो ।