काठमाण्डौ । बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/ ०८१ को चार महिनासम्ममा शाखा सञ्जाल तथा कर्मचारी संख्या बढाउँदै लगेका छन् । 

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्म शाखा कार्यालय र कर्मचारीहरु संख्या उल्लेख्य रुपमा बढाएका छन् । गत वर्षको तुलनामा कर्मचारी र शाखा कार्यालयको संख्या प्रतिशतका आधारमा घटेपनि चालू आवमा बीमा कम्पनीहरुले कर्मचारी र शाखा कार्यालय थप्दै गएको पाइएको छ ।

गत वर्ष बीमा कम्पनीहरुमा फोर्स मर्जरको नीति लागू हुँदा ९ वटा जीवन बीमा र १२ वटा निर्जीवन बीमा कम्पनी गरी कुल २१ वटा बीमा कम्पनीहरु मर्जरमा सामेल भएका थिए । २१ बीमा कम्पनी मर्जरमा जाँदा कर्मचारीको संख्या र कार्यालय संख्या स्वतः घट्न पुगेको बीमा प्राधिकरणको भनाइ छ । 

‘बीमा कम्पनीहरु मर्ज हुँदा कर्मचारी अवकास योजनामार्फत् १०० भन्दा बढी कर्मचारीहरुले अवकास लिएका थिए’ प्राधिकरणका एक अधिकारीले भने, ‘साथै मर्जरमा गएका कम्पनी एउटै क्षेत्रमा भएका साविकका दुई शाखा कार्यालयहरु समेत समायोजन हुँदा शाखा कार्यालयको संख्या घट्न पुगेको हो ।’ 

विभिन्न बीमा कम्पनीहरुले चालू आव सुरु भएलगत्तै धमाधम कर्मचारी भर्ना खुलाएर कर्मचारी नियुक्त गरेको र कर्मचारीको संख्या बढेर गतिशिल कायम भएको ती अधिकारीले बताए । विशेषगरी लघु बीमा कम्पनीरुले चालू आवमा शाखा कार्यालय र कर्मचारी संख्या थप्दै लगेका छन् ।

लघु जीवन बीमा र लघु निर्जीवन बीमा कम्पनीले व्यवसाय विस्तारका लागि कर्मचारी र शाखा थप्दै लगेको ती अधिकारीले बताए । चालू आवको चार महिनामा बीमा कम्पनीहरुमा कर्मचारीको संख्या २.३८ प्रतिशतले बृद्धि भइसकेको छ ।

साउन महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीमा कुल कर्मचारीको संख्या ११ हजार १५२ रहेकोमा कात्तिक मसान्तसम्म आइपुग्दा ३४६ जना कर्मचारी थपिएर ११ हजार ४१८ पुगिसकेको छ । 

साउन महिनामा बीमा कम्पनीमा कुल कर्मचारीको संख्या ११ हजार १५२ थियो । त्यस्तै, भदौ महिनामा बढेर कर्मचारीको संख्या ११ हजार ३११ पुगेको थियो । त्यस्तै, भदौ महिनाको तुलनामा असोज महिनामा कर्मचारीको संख्या १.७१ प्रतिशतले बढेर ११ हजार ५०८ पुगेको थियो । 

तर, असोज महिनाको तुलनामा कात्तिक महिनामा भने ती कम्पनीहरुमा कर्मचारीको संख्या ०.७८ प्रतिशतले घटेको छ । कात्तिक महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीमा कर्मचारीको संख्या ११ हजार ४१८ थियो । 
२८ शाखा कार्यालय थपिए 
चालू आवकोे चार महिनामा मात्रै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमा २८ वटा शाखा कार्यालयहरु थपिएका छन् । साउन महिनामा कुल शाखा कार्यालय २ हजार ७९९ रहेकोमा कात्तिक मसान्तसम्म आइपुग्दा शाखा संख्या बृद्धि भई २ हजार ८२७ पुगिसकेको छ । 

साउनको तुलनामा भदौ महिनामा बीमा कम्पनीको शाखा बढेर २ हजार ८३० पुगेको थियो । त्यस्तै, असोज महिनामा भने भदौको तुलनामा घटेको थियो । असोजमा जीवन तथा निर्जीवन बीमा कम्पनीको शाखा २ हजार ८२५ थियो ।

उता कात्तिक महिनाको तथ्यांक अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीको कुल शाखा कार्यालय २ हजार ८२७ पुगेको छ । चार महिनामा बीमा कम्पनीहरुको शाखा र कर्मचारीको संख्या क्रमशः थपिदै गएको देखिएको छ ।

बीमा कम्पनीहरुमा कर्मचारीको संख्या थपिँदै जाँदा कम्पनीको व्यवसाय र जनशक्ति बलियो हुँदै जाने प्राधिकरणले बताएको छ ।