-मनिष सोती
काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि लगानीको दायरा बढाएपछि सेयर लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।

सेयरबजारमा संस्थागत लगानीकर्ता भित्रिने भएपछि बजारले लय समात्ने लगानीकर्ताहरु बताउँछन् । 
 

बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि लगानी निर्देशिका संशोधनगर्दै सूचीकृत सेयरमा ५ प्रतिशतबाट बढाएर चुक्तापूँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ । 
 

जीवन तथा निर्जीवन बीमा कम्पनीले सेयरमा लगानी गर्न पाउने सीमा बढेसँगै बजारमा नयाँ फण्ड आउने देखिएपछि लगानीकर्ताहरुमा उत्साह थपिएको हो । 
 

प्राधिकरणले बीमा कम्पनीको लगानीको नीति खुकुलो बनाएपछि बजारले पछिल्लो समय लय लिएको बजार जानकार महेश रिजाल बताउँछन् । 
 

‘जीवन र निर्जीवन बीमा कम्पनीले अब कायम चुक्तापूँजीको १५ प्रतिशतसम्म सेयरमा लगानी गर्न पाउने भएका छन्, यो भनेको बजारमा अब अर्बौ रुपैयाँ लगानी भित्रिने छन्’ उनले भने, ‘संस्थागत लगानीकर्ताहरु बजारमा भित्रिदा कम्पनीहरुको सेयरभाउ बढेर नेप्से परिसूचक पनि बढ्ने सम्भावना हुन्छ ।’ 
 

पछिल्लो समय बैंकहरुको ब्याजदर पनि घट्दै गएको र बीमा प्राधिकरणको यस्तो निर्णयले बजारलाई सकारात्मक प्रभाव पारेको रिजाल बताउँछन् । 
 

‘अब प्रत्येक जीवन बीमा कम्पनीले ७५ करोड र निर्जीवनबीमाकम्पनीले ३७ करोड ५० लाख रुपैयाँ लगानी गर्न पाउने व्यवस्था मिलेको छ, सेयर बजारमा ठूलो लगानी भित्रिदा सूचीकृत कम्पनीहरुको सेयरभाउ बढ्ने देखिन्छ’ उनले भने, ‘पुस मसान्तको प्रेसरले गर्दा आजबजार जति बढ्नुपर्ने हो त्यति बढेन तर बीमा प्राधिकरणले जस्तै नेपाल राष्ट्र बैंकले पनि खुकुलो नीति अपनाउने हो भने माघमा नेप्से इन्डेक्स २२४० मा पुग्नेछ ।’ 
 

त्यस्तै, अर्का बजार जानकार मुक्ति बहादुर खत्री पनि बीमा प्राधिकरणको यस्तो निर्णय स्वागतयोग्य रहेको बताउँछन् ।

‘बजारमा लगानी गर्ने फण्ड बढ्छ, अधिकांश बीमा कम्पनीहरुले यसअघि पनि बैंक, वित्तीय संस्था र बीमा कम्पनीमा बढी लगानी गरेका छन्’ उनले भने, ‘बीमा कम्पनीहरुले दीर्घकालिन लगानीमा जोड दिने भएकाले लगानीकालागि प्राथमिकतामा कमर्सियल बैंकहरु बढी पर्ने देखिन्छन्, यसले अब बैंकहरुको सेयरभाउ बढ्ने संकेत देखिन्छ ।’ 
 

बीमा कम्पनीहरुले आधारभुत विश्लेषणका आधारमा लगानी गर्ने हो भने ‘लो क्याप’ भएका कम्पनीहरु पनि प्राथमिकतामा पर्ने खत्री बताउँछन् । 
बीमा कम्पनीको छनोटमा कस्तो कम्पनी पर्ला ?
बीमा प्राधिकरणले लगानीको दायरा बढाएपछि सेयरबजारको विश्लेषण गरी लगानी योग्य कम्पनी छनोट गर्ने सानिमा रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे बताउँछन् । 

 

‘प्राधिकरणको लगानी सम्बन्धी निर्देशन स्वागतयोग्य छ, यसले गर्दा बीमा कम्पनीहरुले लगानीको सीमा बढाउन पाउने छन्, हामीले पनिअब कस्तो खालका कम्पनीमा लगानी गर्ने तयारी गर्नेछौं’ उनले भने, ‘लगानीका लागि सञ्चालक समिति बैठक बसेर कति रकम लगानी गर्ने निर्णय गरी सेयरबजार विश्लेषण गर्नुपर्छ ।’
 

बजारको अवस्था हेर्दा अण्डरभ्यालु कम्पनी, दीर्घकालिन लगानीका लागि योग्य भएका कम्पनीहरुमा लगानी गर्नु उचित हुने पाण्डे बताउँछन् ।

‘सेयरमा लगानी गर्नका लागि छुट्टै कमिटि बनाउनुपर्ने हुन्छ, कुन कम्पनीमा लगानी गर्दा जोखिम कम र रिटर्न पाउने बढी सम्भावना हुन्छ त्यस्तै कम्पनी प्राथमिकतामा पर्नेछन् ।’उनले बिजशाला डटकमसँग भने । 
 

त्यस्तै, नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी ईश्वर नेपालले पनि बीमा कम्पनीले बढी ‘ब्लुचिफ’कम्पनीहरुमा लगानी गर्ने बताए । 
 

‘बीमा प्राधिकरणले लगानीको दायरा बढाएको छ, यो सुरुवात हो, अब लगानीको दायरा कसरी बढाउने र कस्ता खालका कम्पनीहरु छनोट गर्ने सञ्चालक समितिको बैठकले निर्णय गर्नेछ’, उनले भने, ‘सञ्चालक समितिले लगानीको कार्यविधि बनाएर सम्भावना भएको कम्पनीमा नेपाल इन्स्योरेन्सले लगानी गर्नेछ ।’ 

बीमा कम्पनीहरुले यसअघि बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै आएका छन् ।