लण्डन । राजकुमार चाल्र्स र प्रधानमन्त्री बोरिस जोनसनपछि बेलायतका स्वास्थ्यमन्त्रीलाई समेत कोरोना संक्रमण भएको छ । 

स्वास्थ्यमन्त्री म्याट हानकक पनि कोभिड १९ बाट संक्रमित भएका हुन्। 

संक्रमण पुष्टि भएपछि  ४१ वर्षीय हानकक सेल्फ आइसोलेसनमा रहेका बेलायतका संचारमाध्यमहरुले जनाएका छन् । 

यसअघि बेलायतका राजकुमार चाल्सलाई पनि कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । 

बेलायतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । कोरोना रोकथामका लागि सरकारले चालेको अभियानका नेतृत्वकर्ता प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई नै संक्रमण भएपति त्यहाँका नागरिकमा अन्यौल बढेको बताइएको छ । 

तर, प्रधानमन्त्री जोन्सनले शुक्रबार नै ट्वीटमार्फत आफूले आइसोलेसनबाटै कोरोनाविरुद्धको अभियान हाँक्ने र कोरानामाथि आफूहरुले जित हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।