काठमाण्डौ । नोभेम्बर महिनामा खुद्रा बिक्रीको आँकडा सोचेभन्दा बढी घटेपछि अमेरिकी बजार बिहीबार भारी गिरावट आएको छ। जसका कारण अमेरिकामा मन्दीको डर बढेको छ। 

अमेरिकाको फेडरल रिजर्भले ब्याजदरमा निरन्तर वृद्धि गरिरहेका कारण अर्थतन्त्र मन्दीतर्फ गइरहेको छ। सेप्टेम्बरपछि डाउ जोन्स इन्डस्ट्रियल एभरेज बिहीबार सबैभन्दा खराब दिन साबित भएको छ।

डाउ जोन्स ७६४.१३ अंक वा २.२५ प्रतिशत घटेर ३३,२०२.२२ मा झरेको छ। एस एन्ड पी ५०० २.४९ प्रतिशतले ३८९५.७५ मा खसेको छ। डिसेम्बरयता एस एन्ड पी ५०० लगभग ४.५ प्रतिशतले ओरालो लागिसकेको छ। 

नास्डक कम्पोजिट ३.२३ प्रतिशतले घटेर १०८१०.५३ मा झरेको छ। किनकि टेक–हेभी इन्डेक्सले २०२२ मा आफ्नो घाटाको आँकडा लगभग ३१ प्रतिशतसम्म बढेको छ। 

एस एन्ड पी ५०० ट्रेडिङमा १४ वटा स्टकमात्र सकारात्मक भएको छ। एप्पलको सेयरसँगै मेगा क्याप टेक स्टकको भाउ घटेको छ।

एप्पल अल्फाबेटको सेयरमूल्य ४ प्रतिशतले घटेको छ। योसँगै अमेजन र माइक्रोसफ्टको सेयरभाउ पनि ३ प्रतिशतसम्म घटेको छ। 

डिजीडेको रिपोर्टपछि नेटफ्लिक्स सेयरमूल्य ८.६ प्रतिशतसम्म घटेको छ। रिपोर्टमा भनिएको छ कि नेटफ्लिक्सले दर्शकको संख्या घटेपछि विज्ञापनदातालाई पैसा फिर्ताको प्रस्ताव गरिरहेको छ।

निराशाजनक खुद्रा बिक्री रिपोर्टअनुसार मुद्रास्फीति दर उपभोक्ताका लागि भारी परिरहेको छ। अमेरिकाको कमर्स डिपार्टमेन्टका अनुसार नोभेम्बर महिनामा खुद्रा बिक्री ०.६ प्रतिशतले घटेको थियो भने डाउ जोन्सले ०.३ प्रतिशतले गिरावटको अनुमान गरेको थियो।

केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशतले ब्याजदर बढाएको छ। यो वृद्धिपछि अमेरिकी बजारमा बिक्रीचाप सुरु भएको हो। फेडले २०२३ सम्म ब्याजदरहरु बढ्ने क्रम जारी राख्ने जनाएको छ। जसका कारण फेड फन्डको दर ५.१ प्रतिशभन्दा उच्च हुने पूर्वानुमान गरिएको छ। 

ब्याजदर बढेपछि फेड रिजर्भको लक्ष्य दर ४.२५ प्रतिशतदेखि ४.५० प्रतिशतको बीचमा पुगेको छ। यो ब्याजदर विगत १५ वर्ष अर्थात २००७ पछिकै उच्च हो। 

उता बेलायत पहिले नै आर्थिक मन्दीको चपेटामा छ। त्यहाँ बढ्दो मुद्रास्फीतिले जनताको सास्ती बढाएको छ। प्रधानमन्त्री ऋषि सुनकको सरकारले मन्दी हटाउन ब्याजदर बढाएको छ। अमेरिकी बजारमा आएको गिरावटको प्रभाव आज भारतीय बजारमा पनि देखिएको छ भने शुक्रबार पनि सेयर बजारमा बिक्री घटेको देखिएको छ।

बैंक अफ इंग्ल्यान्डले बिहीबार आफ्नो प्रमुख ब्याजदर ०.५० प्रतिशतले बढाएको छ। यो केन्द्रीय बैंकले ब्याजदर ०.५० प्रतिशतले बढाएर ३.५ प्रतिशत गरेको छ। यो पछिल्लो १४ वर्षयताकै उच्च स्तर हो। डिसेम्बर २०२१ यता बैंक अफ इंग्ल्यान्डले ब्याजदर बढाएको यो लगातार ९ औँ पटक हो। –एजेन्सी