काठमाण्डौ । राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि बैंकहरुबीच एकीकरण भएजस्तै काठमाडौंका दुई सहकारीले समेत एकीकृत कारोबार सुरु गरेका छन् । 

काठमाडौंको तीनकुनेस्थित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र जोरपाटी स्थित नवप्रगति बचत तथा ऋण सहकारी संस्थाले शनिवार विशोष एकीकरण साधारणसभा गरेर एकीकृत कारोबार थालेका हुन् । 

सरकारले सहकारीको संख्या धेरै हुनुभन्दा गुणात्मक सहकारी संस्था हुनुपर्ने भन्दै एकीकरणको नीति ल्याएपछि यी दुई संस्था एक भएका हुन् । एकीकरणपछिको संस्थाको नाम हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहने छ । 

विशेष साधारणसभामा एकीकृत संस्थाका अध्यक्ष कृष्ण गिरीले एकीकरणको आवश्यकता पहिचानबारे, कार्यकारी प्रमुख सुमनविक्रम थापाले एकीकरणको सर्त र कार्यविधि तथा उपाध्यक्ष बासुदेव घिमिरेले संस्था एकीकृत हुनुअघि र पछिको वित्तीय अबस्थाको प्रतिवेदन पेश गरेका थिए । तीनवटै प्रस्ताव विशेष साधारणसभाले पारित गरेको कार्यकारी प्रमुख थापाले जानकारी दिए । 

एकीकृत संस्थाको चुक्ता पूँजी १ करोेड ६६ लाख ७८ हजार रुपैयाँ, बचत ६ करोड २१ लाख ५० हजार, कर्जा लगानी ८ करोड ८३ लाख ९० हजार रुपैयाँ पुगेको छ । दुवै संस्थाको गरी सेयर धनी संख्या ८ सय ९१ पुगेको छ । एकीकरणपछि दुवैं सस्थाको कुल पूँजी १० करोड ७५ लाख पुगेको कार्यकारी प्रमुख थापाले जानकारी दिए । 

एकीकरणपश्चात हिलटप जुनारले बचत तथा ऋणको कारोबारको अलावा कृषि तथा उत्पादनमूलक ब्यवसायका माध्यमबाट संस्थामा सदस्यहरुलाई रोजगारी सिर्जना गर्ने नीति लिने जनाएको छ ।