काठमाण्डौ । देशका वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) अनिलकेशरी शाह निर्विरोध निर्वाचित भएका छन् । 

बैंकर्स संघको साधारणसभा भने बुधबार हुँदैछ । साधारणसभाअघि नै अध्यक्ष पदमा उम्मेद्वारी दर्ता खुलाइएकोमा अध्यक्षमा शाहको मात्र उम्मेद्वारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । 
अध्यक्षमा उनी निर्वाचित भएको औपचारिक घोषणा तथा अनुमोदन भने बुधबार हुनेछ । 

यसअघि नेपाल बैंकर्स संघमा वरिष्ठ उपाध्यक्षलाई नै सहमतिको आधारमा अध्यक्ष निर्वाचित गर्ने चलन थियो । यही सुझबुझका कारण पनि शाहको विरुद्धमा अन्य कसैले पनि उम्मेद्वारी नदिएका संघका एक अधिकारीले बिजशालालाई बताए । 

अनिलकेशरी शाह अहिलेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन् । उनी अध्यक्षमा गएपछि रिक्त रहने वरिष्ठ उपाध्यक्ष हालका उपाध्यक्ष तथा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन पुग्नेछन् । महर्जन वरिष्ठमा गएपछि उनको ठाउँमा नेपाल बंगलादेश(एनबी) बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानालाई लैजाने कार्यसमितिले निर्णय गरेको बताइएको छ । महर्जन र ढुंगानालाई बढुवा गर्ने कार्यसमितिको निर्णयलाई बुधबारको साधारणसभाले अनुमोदन गर्नुपर्नेछ । अध्यक्ष र उपाध्यक्ष दुबैको कार्यकाल २ वर्षको हुनेछ । 

हाल संघको अध्यक्षमा एनएमबी बैंकका सीइओ उपेन्द्र पौड्याल कार्यरत छन् । उपाध्यक्ष उक्लिएका ढुंगाना वर्तमान कार्यसमितिमा सदस्य छन् । संघमा अध्यक्ष, दुई उपाध्यक्ष र निवर्तमान अध्यक्षसहित ९ सदस्यी कार्यसमितिको व्यवस्था गरिएको छ । हाल नेपाल बैंकर्स संघमा देशका २८ वाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैक सदस्य छन् । 

को हुन शाह ?
अध्यक्ष बन्ने निश्चित भएका अनिलकेशरी शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा बैंकर्स संघको उपाध्यक्ष भएका थिए । नबील बैंक छाडेर उनी केही महिना चूपचाप बसेका थिए । बैंकिंग क्षेत्रमा नभएको प्रमुख कार्यकारी अधिकृत संघको सदस्य हुन नपाउने व्यवस्था अनुसार उनी वरिष्ठ उपाध्यक्ष भएकै बेला बाहिरिनुपरेको थियो । 

केही समयपछि मेगा बैंकको सीइओ भएर आएका उनी संघमा पुनः सदस्यबाट आफ्नो यात्रा सुरु गरेका र हाल वरिष्ठ उपाध्यक्षको रुपमा कार्यरत थिए । 

शाह नबील बैंकमा इन्टर्न गरेर  तत्कालीन नेपाल ग्रिण्लेज(अहिलेको नेपाल स्टान्डर्ड चार्टर्ड बैंक नेपाल)बाट बैकिंग करिअर सुरुवात गरेका हुन् । यो बैंकमा उनी प्रमुख सञ्चालक अधिकृत(सिओओ) सम्मको पदमा पुगेका थिए । 

स्ट्याण्डर्ड चार्टर्डबाट नबील बैंकमा महाप्रबन्धकको रुपमा फर्किएका शाहको प्रमुख कार्यकारी अधिकृतको करिअर भने मेगा बैंकबाट सुरु भएको हो । 

अमेरिकाको हार्वर्ड विश्व विद्यालय अन्तर्गतको जोन एफ केनेडि स्कुल अफ गभर्मेन्टमा समेत अध्ययन गरेका शाहले एमबिए दिल्ली युनिभर्सिटीबाट गरेका छन् । शाह मार्केटिङमा पनि स्नातकोत्तर हुन् ।