काठमाण्डौ । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले ब्याजदर निर्धारणको बिषय बजारलाई नै छाडिदिनुपर्ने बताएका छन् । 

नेपाल राष्टबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि आयोजना गरेको छलफलमा संघका अध्यक्ष ढुंगानाले ब्याजदर निर्धारणको  बिषय बजारलाई नै जिम्मा दिनुपर्ने बताएका हुन् । 

‘ब्याजदर बजारले नै निर्धारण गरोस् भन्ने उद्योगी व्यवसायी साथीहरुको धारणामा हाम्रो पनि सहमति हो ।’ उनले भने–‘बजारमा प्रशस्त तरलता भए सबै कुरा ठीक हुन्छ, यसका लागि समेत ब्याजदर निर्धारण गर्ने जिम्मा बजारलाई नै छाडिदिनुपर्छ ।’ 

उनले क्षणिक र दीर्घकालीन रुपमा तरलता समस्या समाधानका उपायमा विशेष ध्यान दिनुपर्नेमा समेत जोड दिएका थिए । 

क्षणिक रुपमा सीसीडीले गर्दा ठूलो मात्रामा तरल सम्पत्ति आइडल राख्नुपर्ने आइडल राख्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले थपे–‘सीसीडीको ८० प्रतिशतको सीमा तत्काल हटाउने हो भने मात्रै पनि त्यसबाट १५० अर्ब बढी निस्किन सक्छ ।’

उनले तरलताको समस्या र ब्याजदरको उतारचढावको दीर्घकालीन समाधानको उपायको रुपमा रिफाइनान्सिङलाई जोड दिए । ‘रिजर्ब बेस्ड रिफाइनान्सिङ भन्दा पनि क्रेडिट क्रिएसन गरेर पनि रिफाइनान्सिङ गरिदिनुपर्छ । अहिलेको अवस्थामा इन्फ्लेसनमा चाप नपरेको अवस्थामा यो उपयुक्त हुन्छ ।’

उनले यसो हुन सकेको खण्डमा अहिलेको ब्याजदरलाई धेरै हदसम्म कम गर्न सकिने सुझाए । 

ब्याजदर स्थायीत्वका लागि केन्द्रीय बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई लामो समयका बण्डहरु जारीका लागि विशेष प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो ।