काठमाण्डौ । बैंकरहरुले निजी क्षेत्रले माग गरेजस्तो तत्कालै कर्जाको ब्याजदर एकल अंकमा आउने सम्भावना नरहेको प्रष्ट पारेका छन् । 

नेपाल बैंकर्स संघले आयोजना गरेको छलफल कार्यक्रममा संघका अध्यक्ष सुनिल केसी र पूर्व अध्यक्ष तथा नवील बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यस्तो दाबी गरेका हुन् । 

अध्यक्ष केसीले अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो क्रममा रहेको र नजिकको छिमेकी भारतको अवस्था समेत उस्तै रहेको उल्लेख गर्दै नेपालमा मात्रै कर्जाको ब्याजदर एकल अंकमा झर्ने सम्भावना नरहेको बताए । 

उनले माघका लागि निक्षेपको ब्याजदर घटेको, फागुनका लागि नबढेको अवस्थामा बैशाखदेखि बैंकहरुको कोषको लागत घट्न गई आधार दर समेत केही घट्ने र त्यसले ब्याजदर घट्ने पनि प्रष्ट पारे । बिस्तारै ब्याजदर घट्दै जाने उल्लेख गर्दै उनले तरलतामा सुधार हुँदै जाँदा अझ सहज अवस्था आउनसक्ने प्रक्षेपण गरे । 

उनले बैंकमा ४ करोड ७० लाख निक्षेप खाता र १८ लाख ऋण खाता रहेको डेटा प्रस्तुत गर्दै बैंकहरुले ऋणिको मात्र कुरा सुनेर नहुने प्रष्ट पारे । 

उनको विश्लेषणमा तरलताको अवस्थामा चालु आर्थिक वर्षको अन्त्यदेखि केही सुधार आउनसक्ने अपेक्षा गर्न सकिन्छ । आर्थिक वर्षको अन्तिममा सरकारको विकास खर्चमा हुने वृद्धि, सरकारको आन्तरिक ऋण परिचालन लगायतका कारणले तरलताको भविष्य निर्धारण गर्ने उनको भनाई छ । 

सोही कार्यक्रममा सहभागी एनबीएका पूर्व अध्यक्ष तथा नवील बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले समग्र विश्वको अर्थतन्त्र एकातिर र नेपालको अर्थतन्त अर्कोतिर हुनै नसक्ने दाबी गरे । विश्वभरका देशहरुमा ब्याज बढिरहेको बेला नेपालमा मात्रै एकल अंकमा आउनुपर्ने माग असान्दर्भिक रहेको बताए । 

'सडकबाट ब्याजदर तिर्दिन भन्नु अराजकता हो । विरोधका लागि विरोध गरेर केही हुन्न् ।' उनले भने-'निजी क्षेत्रले भनेजस्तो कर्जाको ब्याजदर तत्काल सिंगल डिजीटमा आउँदैन ।'