काठमाण्डौ । नेपाल बैंकर्स संघ(एनबिए)ले बैंकहरुलाई ब्रोकर लाइसेन्सको विषय निश्कर्षमा पुर्याई पूँजीबजारलाई बिस्तार गर्नुपर्ने सुझाव दिंदै यसमा पहल गर्न नेपाल राष्ट्रबैंकलाई अनुरोध गरेको छ। 

आगामी मौद्रिक नीतिका लागि बैंकर्स संघले सुझाव पठाउँदै यस्तो अनुरोध गरिएको हो ।

'कतिपय देशहरुमा बैंकहरुले धितोपत्र ब्रोकरको कार्यहरु गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार सोका लागि केही बैंकहरुले सहायक कम्पनीहरु समेत खोलिसकेको अवस्था छ ।' सुझावमा भनिएको छ-'सो सहायक कम्पनीहरुले देशका कुना कुनामा छरिएका वाणिज्य बैंकहरुका शाखा मार्फत् ग्रामिण क्षेत्रमा पनि पुंजीबजारलाई विस्तार गर्न सक्दछन् ।' 

वाणिज्य बैंकका सहायक कम्पनीले हाल ब्रोकर लाइसेन्स पाउन नसकेको अवस्था रहेको अवगत गराउँदै संघले केन्द्रीय बैंकबाट पहल भएमा वित्त बजारलाई सहयोग पुग्ने भनिएको छ ।