काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै बढ्दो कोरोना संक्रमणको दोस्रो लहरको जोखिमलाई ध्यान दिई सेवाग्राहीलाई सम्भव भएसम्म फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न निर्देशन दिएको हो। महामारीको हालको अवस्थामा सूचना प्रविधिकको अत्याधिक प्रयोग गरी बैंक तथा वित्तीय संस्थाका अधिकांश कार्य विद्युतीय माध्यमबाट सम्पादन गर्नुपर्ने भएकोले यसबाट उत्पन्न हुनसक्ने जोखिम तथा यसको दुरुपयोगप्रतिसमेत चनाखो रही आवश्यक जोखिम व्यवस्थापन गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई सम्पादन गर्न असम्भव हुने कामका लागिमात्र न्यून कर्मचारी उपस्थितिलाई कार्यसम्पादन हुने व्यवस्था मिलाउन भनेको छ। त्यस्तै निषेधाज्ञा जारी भएका स्थानमा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी तथा शाखा कार्यालयहरुका हकमा सम्भव भएसम्म २५ प्रतिशतभन्दा कम कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ। कर्मचारीको अनावश्यक उपस्थिति रोक्नका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गरी वर्क फ्रम होम तथा रिमोट एसिसबाट कार्यसम्पादन गर्न राष्ट्र बैंक जोड दिएको छ।
नजिकै रहेका शाखाहरुका हकमा न्यून संख्यामा शाखाहरु सञ्चालनमा ल्याई वैकल्पिक शाखा कार्यालयबाट आलोपालो गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउन तथा बन्द हुने शाखा कार्यालयका मूल ढोका, संस्थाको वेबसाइट तथा सामाजिक सञ्जालसमेतमा सेवासम्बन्धी सोधपुछका लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयसम्बन्धी सूचना दैनिक रुपमा प्रकाशित गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।
केन्द्रीय बैंकले विभिन्न निकायबाट जारी भएका र हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय नियकासँगको समन्वयमा शाखा सञ्चालन गरी बैंकिङ सेवा प्रदान गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
यसैगरी राष्ट्र बैंकले कोभिड–१९ को संक्रमण जोखिम न्यूनीकरण गरी सेवा सुचारु गर्ने सम्बन्धमा यसअघि जारी गरिएको निर्देशनहरु परिपालना गर्न गराउन निर्देशन दिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19