काठमाण्डौ । जनता बैंक नेपालसँग मर्जर तोडिएपछि राष्ट्रबैंकले तोकेको पूँजी आफैं पुर्याउन कस्सिएको माछापुच्छ्रे बैंकले ५० प्रतिशत हकप्रद(करिब १ अर्ब ९३ करोड रुपैयाँ) निश्कासन गर्ने भएको छ । 

बैंकले ५० प्रतिशत हकप्रद निश्कासनका लागि आवश्यक प्रक्रिया समेत थालेको छ । बैंकले १ अर्ब ९३ करोड २२ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद निश्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा पुगेको छ । पहिलो चरणको ५० प्रतिशत हकप्रदका लागि प्रक्रिया थालिएको बताइएको छ । 

यसपछि यो बैंकले ७ बराबर १ को दरले समेत हकप्रद निश्कासन गर्ने योजना यसअघि नै सार्वजनिक गरिसकेको छ ।  

माछापुच्छ्रे बैंकको हाल चुक्तापूँजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भएपछि र यसको निश्कासन तथा व्यवस्थापनपछि बैंकको कुल चुक्तापूँजी करिब ५ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । 

बैंकले यसअघि नै जनतासँग मर्जर भाँडिएपछि राष्ट्रबैंकले तोकेको ०७४ असार मसान्तसम्मको सीमाभित्र ८ अर्ब चुक्तापूँजी पुर्याउने भन्दै पूँजी वृद्धि योजना सार्वजनिक गरेको थियो । सोही योजना अनुसार ५० प्रतिशत हकप्रद निश्कासनको प्रक्रिया थालिएको बैंकका एक अधिकारीले बताएका छन् । 

उनका अनुसार बैंकले बोनस सेयर र दुई चरणमा गरी २ अर्ब ८५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । ५० प्रतिशतको हकप्रद निश्कासन र व्यवस्थापनपछि दोश्रो चरणमा ७ बराबर १ का दरले ९२ करोड १८ लाखको हकप्रद सेयर जारी गर्नेछ । 

बैंकले गत वर्षकै नाफाबाट लगानीकर्तालाई ११ प्रतिशत सेयर लाभांश पनि दिनेछ । आर्थिक वर्ष २०७२ ७३ को चौथो त्रैमाससम्ममा यो बैंकले ८९ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।