काठमाण्डौ । देशका केही जिल्लामा नो डिपोजिट लगायतका बैंकविरोधी अभियान सुरु भएको र त्यसमा व्यवसायीहरुको समेत संलग्नता देखिएका खबरहरु बाहिर आइरहेको बेला नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लोकप्रिय बन्नका लागि सस्ता र मीठा कुरा नगर्न आग्रह गरेका छन् । 

शुक्रबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका नेतृत्वमा रहेका व्यक्तिले व्यवसायीहरुमाझ लोकप्रिय बन्ने होडबाजीमा सस्ता र मिठा कुरा नगरी जिम्मेवार बन्न आग्रह गरे । 

“हामी निजी क्षेत्रको नेतृत्वमा रहेका व्यक्तिहरुले सस्तो लोकप्रियताका लागि व्यवसायीहरु माझ गैर जिम्मेबार भई जथाभावी बोल्नु हुदैन । पपुलर हुनकै लागि बैंकको ऋण र व्याज तिर्दिन भन्ने कुरा गर्नुहुँदैन । बैंकमा भएको निक्षेप पनि जनताको हो । हामी व्यवसायीहरुले यस्तो गैर जिम्मेबार कुरा बोल्नु हुँदैन,” उनले भने । 

उनले केही व्यवसायीहरुले महासङ्घको निर्वाचनलाई लक्षित गरी पपुलर कुराहरु गर्ने गरेको बताउँदै नेतृत्वमा पुग्ने व्यक्ति जवाफदेही र जिम्मेवार पनि हुनुपर्नेमा जोड दिए । 

कोभिड महामारीका कारण मुलुकको मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले यसमा विस्तारै सुधार देखिन थालेको जानकारी गराए । 

“कोभिड महामारी र त्यसपछिको समयमा नेपालमा मात्र होइन विश्व अर्थतन्त्रमा नै समस्या देखिएको थियो । त्यसैको प्रभाव स्वरुप नेपालको बैंकिङ्ग क्षेत्रमा तरलता अभाव सुरु भयो र बैंकको कर्जाको ब्याजदर बढ्न गयो । तर, अहिले हाम्रो अर्थतन्त्रका केही इन्डिकेटरहरु सकारात्मक हुन थालेको संकेत देखिएका छन् । त्यसैले म व्यवसायी साथीहरुलाई आत्तिने र हडबडाउने नगर्न पनि आग्रह गर्न चाहन्छु,” उनले भने । 

आर्थिक संकटको कारण देखाउँदै केही व्यवसायीहरुले आत्महत्या गरेको तर्फ इङ्गित गर्दै ढकालले व्यावसायिक यात्राका क्रममा धेरै सहज र असहज परिस्थितिहरु आउने हुँदा त्यस्तो चुनौतिहरु सामना गर्दै अगाडि बढ्न व्यवसायीहरुलाई सुझाव समेत दिए । 

उनले बैंकको व्याजदरको विषयमा महासंघको तर्फबाट आफूहरुले राज्यका विभिन्न निकायमा पटकपटक कुरा उठाएको बताउँदै पछिल्लो समय राज्यले पनि केही विषयहरू सम्बोधन गरेको र वातावरण सहज बन्दै गएको दाबी गरे । 

एउटा बैंकको सञ्चालक भएको नाताले आफू उपस्थित हुने धेरै कार्यक्रमहरुमा पटक-पटक बैंकको व्याजदरको विषय उठाउने गरेको बताउँदै उनले धेरै व्यवसायीहरुलाई कुनै एउटा बैंकको सञ्चालकको चाहनाले मात्र बैंकको व्याजदर परिवर्तन हुने भ्रम रहेको बताए । 

“धेरै व्यवसायी साथीहरुलाई कुनै एउटा बैंकको सञ्चालकले घटाइदिने हो भने व्याजदर घट्न सक्छ भन्ने लागेको देखिन्छ । तर म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंक वा बैंकको सञ्चालकको चाहनाले मात्र परिवर्तन हुने र गर्न सकिने कुरा होइन । व्याज दर निर्धारणमा आन्तरिक तथा बाह्य धेरै कुराहरुको प्रभाव रहन्छ । त्यसै पनि निक्षेपको व्याज बढ्दा अहिले बैंक तथा वित्तीय संस्थाको लागत पनि बढेको छ, उनले भने ।