काठमाण्डौ । चर्कदो तरलता समस्याले ग्रस्त देशका वाणिज्य बैंकहरुले केही दिनका लागि ब्याज बढाउने होड नगर्ने सहमति गरेका छन् । 

नेपाल बैंकर्स एशोसिएसनको आह्वानमा आइतबार २८ वटै वाणिज्य बैंकका सीइओहरुको राजधानीमा सम्पन्न बैठकले केही दिनसम्म ब्याजदर बढाउने होडमा नलाग्ने र नेपाल राष्ट्रबैंकलाई पर्खने सहमति गरेका हुन् । 

उनीहरुले कुनै सीमा नतोकी अहिले बजारमा चलेको अधिकतम रेट भन्दा माथि गएर ब्याज नबढाउने सहमति समेत गरेका छन् । वाणिज्य बैंकहरुले बजारबाट १३.०५ प्रतिशतसम्म दरमा संस्थागत निक्षेप उठाइसकेका छन् । साधारण मुद्धती खाताको ब्याजदर समेत साढे १२ प्रतिशतको हाराहारीमा पुगिसकेको छ । बैंकहरुले यही सीमालाई नाघेर ब्याजदर वृद्धिको होडमा नलाग्ने जेन्ट अग्रीमेन्ट गरेका एक बैंकरले जानकारी दिए । 

उनका अनुसार बैठकमा ब्याजदर वृद्धिको होडबाजीमा लाग्दा समस्याले विकराल रुप लिएको भन्दै बैंकहरुले गम्भीर आत्मासमीक्षा समेत गरेका थिए । उनीहरुले नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल र अर्थसचिव शंकर अधिकारीलाई भेट भएपछि सरकारी तवरबाट अवस्थामा सुधार गर्न आवश्यक पहल थाल्ने आश्वासन आएको भन्दै अब केही दिनका लागि पर्ख र हेरको रणनीति लिने निर्णय समेत गरेका हुन् । 

बैंकरहरुले २८ वटै बैंकको सीसीडी अनुपातको समेत समीक्षा गरेका छन् । अधिकांश बैंकको यस्तो अनुपात संवेदनशील उचाईमा पुुगेको र अब पनि ब्याजदरको होडबाजी चले धेरै बैंकको सीसीडी रेसियो ८० प्रतिशत नाघ्ने उनीहरुको निश्कर्ष रहेको छ । 

राष्ट्रबैंकले सीसीडी रेसियो ८० प्रतिशत नाघे कडा कारबाही गर्ने चेतावनी दिएपछि बैंकरहरु सम्हालिएर अगाडि बढ्ने निश्कर्षमा पुुगेका बताइएको छ । 

गत वर्ष पनि वाणिज्य बैंकबीच ब्याजदर बढाउन होडबाजी नलाग्ने सहमति भएको थियो । तर, त्यस्तो जेण्टल अग्रीमेन्टको मसी सुक्न नपाउँदै कतिपय बैंकले महंगो दरमा निक्षेप उठाउने काम गरेका थिए । यो पटकको सहमतिमा भने विगतको अवस्था नदोहोर्याउने सहमति समेत भएको ती बैंकरको दाबी छ । 

केन्द्रीय बैंकप्रति सकारात्मक
बैंकरहरुले तरलता समस्या समाधानका लागि पछिल्लो समय राष्टबैंकले चालेको कदमप्रति आशा व्यक्त गरेका छन् । राष्टबैंकले आइतबार मात्रै ५ अर्ब बराबरको बैंकहरुसँग भएको सरकारको ऋणपत्र सोझै खरीद गरेको छ भने आफ्ना विभिन्न कोषमा रहेको २ अर्ब ३१ करोड बढी रकम मुद्धती निक्षेपको रुपमा लगानी गर्ने भन्दै बैंक तथा बित्तीय संस्थाबाट दरखास्त आह्वान गरेको छ । यी दुुई कामलाई केन्द्रीय बैंक तातेको रुपमा बुझिएको र तरलता सहज बनाउन अन्य सहजीकरण समेत निकट भविष्यमै हुने विश्वास गरिएको बैंकहरुको भनाई छ ।