काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १७ करोड ६७ लाख रुपैयाँ लगानी गर्ने भएको छ। 

राष्ट्र बैंकको विभिन्न कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। केन्द्रीय बैंकले उक्त रकममध्ये १४ करोड १४ लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड ६५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र ८८ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दति निक्षेपमा लगानी गर्नेछ। 

उक्त रकम आउँदो मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म ३६५ दिनका लागि मुद्दति निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंकले कात्तिक १४ गते बेलुका ७ बजेसम्म ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।