काठमाण्डौ । प्रहरीले बैंकिङ कसूरमा कास्की जिल्लाको पोखरास्थित एउटा सहकारी संस्थाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई शनिबार  पक्राउ गरेको छ ।

प्रहरीले पोखरास्थित मिलन बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष रमण पौडेल र प्रमुख प्रशासकीय अधिकृत किरण अधिकारी प्रक्राउ गरेको हो।उनीहरुलाई बैंकिङ कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर सूर्य रानाले जानकारी दिएका छन् ।

बचतकर्ताको चेक बाउन्स भएपछि उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘उनीहरुलाई सहकारीभन्दा पनि बैंकिङ कसुरमा पक्राउ गरिएको हो,’ प्रहरी स्रोतले भन्यो, ‘थप अनुसन्धान भइरहेको छ ।’

उक्त सहकारी संस्था २ हजार २०० जनाभन्दा बढी बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि संकटमा छ । उक्त सहकारीले सर्वसाधारणको करिब २० करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।