काठमाण्डौ । नेपाल बैंकर्स एशोसिएसन(एनबिए)ले कोरोना संकटको बेला बैंकिङ फ्रड हुनसक्ने भन्दै सुरक्षित कारोबार गर्न आह्वान गरेको छ । 

सोमबार एक सूचना प्रकाशित गर्दै एनबिएले नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण ग्राहकहरु बैंक शाखामा पुग्न नसकेको यथार्थलाई ध्यानमा राख्दै परिपक्व भएका  र हुने मुद्धती निक्षेपको नवीकरणका लागि बैंकमा रजिष्टर गरिएको इमेल र फोनमार्फत अनुरोध गर्न सकिने व्यवस्था गरिएको उल्लेख गर्दै यस्तो बेलामा समेत सावधानी अनपाउन आह्वान गरेको हो । 

विषम परिस्थितिमा सकेसम्म विद्युतीय कारोबार गर्न, आफ्नो खातार नम्बर, पिननम्बर लगायतका व्यक्तिगत विवरणहरु कसैलाई नदिन र विद्युतीय कारोबारमा हुनसक्ने जोखिमलाई ध्यानमा राखी सुरक्षित कारोबार गर्न समेत एनबिएले आग्रह गरेको छ । 

एनबिएले कोरोना भाइरस रोगको जोखिमको बाबजुद बैंकहरुले न्यूनतम बैंकिङ सेवा जारी राख्ने प्रतिबद्धता समेत जनाएको छ ।