काठमाण्डौ । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ) बनेको १४ महिना समेत नपुग्दै राजीनामा दिने बाध्यतामा पुगेका बैंकर जनक शर्मा पौडेलले आगामी दिनमा समेत आफू बैंकिङ क्षेत्रमै रहने घोषणा गरेका छन् । 

उनले जीवनमा पहिलोपटक सीइओ बनेपछि थालेको पहिलो कार्यकाल सफल भएन । ग्लोबल आइएमई बैंकले नै उनलाई सीइओको पदमा पुर्याएको थियो । 

बैंक संचालक समितिका अध्यक्ष चन्द्र ढकालसँगको टसलका कारण उनी त्यहाँबाट कार्यकाल नसकिँदै बाहिरिन बाध्य भए ।

बैंक छाड्नुअघि उनी केही दिनदेखि विदामा बसेका थिए । पछिल्लो समय बैंकको संचालक समिति र खासगरी अध्यक्ष ढकालले दिएको दवाब थेग्न नसकेर उनी बाहिरिएको चर्चा छ । 

बैंकभित्रै भने डेपुटी सीइओमा महेश शर्मा ढकाललाई भित्र्याएपछि उनलाई अध्यक्षले बाइपास गर्न थालेका र यहीकारणले राजीनामा दिएका हल्ला छ ।

तर, बैंकबाहिर भने उनको राजीनामाको बिषयमा विभिन्न हल्ला चलेका छन् । सामाजिक सञ्जालमा उनी ढकाल नभएकै कारण चन्द्र ढकाल अध्यक्ष रहेको बैंकमा टिकेनन् भनेर सस्तो  टिप्पणी गर्नेहरु समेत भेटिएका छन् । 

बैंकिङ क्षेत्र र स्टक मार्केटसँग सम्बद्ध स्टेकहोल्डरहरुमा भने चन्द्र ढकालसँग उनको ठूलै रकमको बिषयमा मनमुटाव भएको हल्ला चलेको छ।

कतिपयले चन्द्र ढकालको नाममा अदृश्य स्रोतबाट बैंकमा २ अर्ब आएको रकमलाई राजीनामाको कारण भनी दाबी गरेका छन् भने कतिपयले चाहि चन्द्र ढकालले आफ्नो विभिन्न उद्योग व्यवसाय संचालन गर्न बैंकबाट अनधिकृत रुपमा लिएको केही अर्ब रकम पौडेलसँगको विवादको मुख्य कारण भनेका छन् । 

यो विषयमा हामीले राजीनामा दिएका सीइओ पौडेलसँग बुझ्ने कोशिश गरेका थियौं । उनले बजारमा आफ्नो राजीनामाको बिषयमा अनेकन हल्ला चलेको उल्लेख गर्दै बिजशालासँग भने–‘मैले काम गर्ने अवस्था रहेन । सो बैंकमा यही मितिसम्म मात्र मैले काम गर्ने लेखेको रहेछ भनेर बुझ्नुहोस् । मेरो भोग सकियो, अनि बैंक छाडेँ ।’

उनले आगामी दिनमा समेत आफू बैंकिङ क्षेत्रमै रहने घोषणा समेत गरे । ‘मैले यतिका लामो समय बिताएको क्षेत्र बैंकिङ नै हो, त्यसकारण यो क्षेत्र छाडिहाल्ने भन्ने कुरा अहिले मेरो मनमा आएको छैन ।’ उनले भने–‘तर मेरो क्षमताअनुसारको अर्को कुनै उपयुक्त अवसर आयो भने त्यसमा पनि मैले सोच्नुपर्छ ।’ 

बजारमा हल्ला फैलिएजस्तो ‘त्यो ठूलो रकम’को  बिषयमा हामीले अध्यक्ष चन्द्र ढकाललाई पनि बुझ्न खोजेका थियौं । उनले यो विषयमा प्रतिक्रिया नै दिन मानेनन् । 

प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएपछि अर्को बैंकमा त्यही पदमा जान ६ महिनाको कुलिङ पिरियड लाग्ने भएकोले उनी तत्काल अन्य बैंकमा त्यही पदमा जाने संभावना छैन । तर, सीइओ भइसकेको व्यक्ति डेपुटी सीइओसम्म जान भने नेपाल राष्ट्रबैंकको व्यवस्थाले रोक्दैन । यही छिद्रको फाइदा उठाउँदै मेगा बैंकको सीइओबाट राजीनामा गरी अनिलकेशरी शाह नवील बैंकमा डेपुटी सीइओ भएर गएका थिए । त्यही पद्चाप पछ्याउँदै पौडेल पनि कतै गए पनि त्यसलाई स्वभाविक नै मान्नुपर्ला । 

पौडेल यसै पनि सीइओको रुपमा आफूलाई सफल प्रमाणित नगरिसकेका बैंकर हुन् । उनले जीवनमै पहिलोपटक सीइओको पहिलो कार्यकाल ग्लोबल आइएमईबाटै सुरु गरेका हुन् । पहिलो गाँसमै ढुंगा भने झै पहिलो कार्यकाल नै अधूरो भई उनी राजीनामासम्म गर्न बाध्य बन्नु पर्यो । यसकारण बैंकिङ बजारमा आगामी दिनमा उनलाई अन्य कुनै वाणिज्य बैंकले सीइओकै रुपमा लैजान मरिहत्ते गर्लान् भन्ने अवस्था पनि छैन । 

सीइओमाथि अनावश्यक दवाब !
नेपालको बैंकिंग उद्योगमा विगत लामो समयदेखि नै बैंकको उच्च व्यवस्थापन र संचालक समितिबीचको विवाद सतहमा आउने गरेकोछ । 

संचालक समितिको अनावश्यक दवाब सहन नसकेर वा संचालक समितिसँग स्वार्थ बाझिएपछि धेरै बैंकरले सीइओ पद छाडेका छन् । 
संचालक समितिले निरन्तर दिने यस्तै दवाबको पछिल्लो शिकार मात्र बनेका हुन् जनक शर्मा पौडेल । 

यसले नेपालको बैंकिंग उद्योगमा सीइओहरु दवाबमा काम गरिरहेका छन् भन्ने देखाउँछ । 

चुक्तापूँजी वृद्धिको नीति आएसँगै सीइओहरुलाई ग्रोथ गर्ने चुनौति र दवाब छ । प्रतिस्पर्धी बैंकहरुले आक्रामक बजार नीति लिए भने त्योसँगै दौडिने र प्रत्येक वर्ष लगानीकर्तालाई आकर्षक लाभांश दिने गरी व्यवसाय हाँक्ने चुनौति समेत छ । संचालक समितिको स्वार्थ अनुकूल बन्न नसक्दा जुनसुकै बेला फ्यालिनुपर्ने चुनौति त झन मुख्य नै भइहाल्यो । 

पौडेल र बैंकका सीइओहरुको हठात आउने यस्ता राजीनामाले हाम्रा बैंकहरु कसरी चलिरहेका छन् भन्ने पनि देखाउँछ । बैंकमा संचालकहरुले कसरी स्वार्थ लाद्छन् भन्ने कुरा पनि यो प्रकरणले देखाउँछ । 

तर, यसको अर्थ सबै सन्दर्भ र समयमा संचालक समितिकै कारण सीइओले राजीनामा गर्छन् भन्ने पनि होइन । कतिपय सीइओहरु जे प्रतिबद्धता व्यक्त गरेर त्यो पदमा पुगेका हुन्छन्, त्यो पूरा गर्न नसकेपछि राजीनामाको  विकल्प हुँदैन । बैंकलाई प्रतिस्पर्धी बजारमा सामान्य ग्रोथमा समेत लैजान नसक्ने, सही नेतृत्व दिन नसक्ने, आन्तरिक सुशासन कायम गर्न नसक्ने जस्ता कमजोरीकै कारण कुनै सीइओले बैंक छाड्छन् भने यस्तो विषयमा चाहि बढी बहसको आवश्यकता छैन । 

तर, संचालक समितिकै गलत स्वार्थ अस्वीकार गरेकै कारण राम्रो गर्दा गर्दै कुनै सीइओले राजीनामा गर्नुपर्ने बाध्यता हो भने यसमा नियामक नेपाल राष्ट्रबैंकले समेत गम्भीर बन्नुपर्दछ ।