काठमाण्डौ । अमेरिका र युरोपको बैंकिङ संकटले कति ठूलो रुप लिन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन। तर, संकटग्रस्त स्विट्जरल्यान्डको सबैभन्दा ठूलो बैंकमध्ये एक क्रेडिट सुइस युनियन बैंक अफ स्विट्जरल्यान्ड (यूबीएस)मा विलय हुन गइरहेको छ। बैंकलाई डुब्नबाट जोगाउन यो निर्णय गरिएको हो। तर, विलयपछि हजारौँ कर्मचारीले जागिर गुमाउन सक्नेछन्।
हालै सार्वजनिक एउटा प्रतिवेदनमा यस्तो दाबी गरिएको हो। गत मार्च १९ मा यूबीएससँग क्रेडिट सुइस विलय हुने खबर सार्वजनिक भएको थियो। मार्च १९ मा स्विस सरकारले अमेरिकामा सिलिकन भ्याली बैंकको पतनपछि विश्वव्यापी वित्तीय मन्दी रोक्न क्रेडिट सुइसको अधिग्रहणको व्यवस्था गर्यो।
स्थानीय सोनट्याग्स जिटुंग नामको पत्रिकाले आन्तरिक स्रोतलाई उद्धृत गर्दै बैंक व्यवस्थापनले कर्मचारीको संख्या २० देखि ३० प्रतिशतसम्म कटौती गर्न सक्ने जनाएको छ। यसको मतलब २५ हजारदेखि ३६ हजार कर्मचारीको जागिर जोखिममा परेको छ। पत्रिकाका अनुसार स्विट्जरल्यान्डमा मात्रै ११ हजार रोजगारी कटौती हुनसक्छ। तर, कुन पदमा कार्यरत कर्मचारीले जागिर गुमाउन सक्छन् भन्ने खुलाइएको छैन।
मर्जर हुनुअघि यूबीएस र क्रेडिट सुइसमा क्रमशः ७२ हजार र ५० हजारभन्दा बढी कर्मचारी थिए। यूबीएस र क्रेडिट सुइस स्विट्जरल्यान्डमा ठूला बैंकहरुमध्येमा पर्दछन्। उनीहरुलाई ग्लोबल सिस्टम्याटिकली इम्पोटेन्ट फाइनान्सियल इन्स्टिच्युसन (जीएसआईएफआई) को श्रेणीमा राखिएको छ। अर्थात् यी बैंक विश्व अर्थतन्त्रका लागि निकै महत्वपूर्ण छन्। जसका कारण उनीहरुलाई डुब्न दिइँदैन।
यूबीएसका अध्यक्ष कोल्म केल्हेरले यो बिजनेसलाई एकीकृत गर्दा ठूलो जोखिम रहेको बताएका थिए।
सबैभन्दा ठूलो लगानीकर्ता साउदी नेसनल बैंकका अध्यक्षले क्रेडिट सुइसमा थप लगानी नगर्ने बताएपछि क्रेडिट सुइसमा संकट बढेको थियो। यो घोषणापछि युरोपेली बजारमा बैंकिङ स्टकमा तीव्र बिक्री सुरु भएको छ। यसपछि स्विस नेसनल बैंक क्रेडिट सुइसको निक्षेप संकट हटाउन जुट्यो।
स्विस नेसनल बैंकले क्रेडिट सुइसलाई ५४ अर्ब डलर ऋण दिने घोषणा गरेको थियो। त्यसपछि यूबीएसले क्रेडिट सुइस प्राप्त गर्ने खबर आयो। यूबीएसले आफ्नो बेलआउट प्रक्रियाको एक भागका रुपमा क्रेडिट सुइसलाई प्राप्ति गर्ने निर्णय गरेको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19