निराजन देवकोटा
काठमाण्डौ । कुनै कर्मचारीले काम गर्ने नाममा अनावश्यक गडबड गर्यो भने सो कम्पनीको व्यवस्थापनले स्पष्टीकरण सोध्न पाउने कि नपाउने ? कर्मचारीको कर्तुतको विषयमा छानबिन गर्न पाउने कि नपाउने ? अनि कुनै कैफियत नै रहेको बग्रेल्ती प्रमाणहरु फेला परेपछि कारबाही गर्न पाउने कि नपाउने ? हेटौंडाका एक बैंक म्यानेजरले ‘आत्महत्या’ गरेको खबर सार्वजनिक भएसँगै अहिले बैंक तथा वित्तीय संस्था र सोसँग सम्बन्धित वृत्तहरुमा यस्तै प्रश्नमिश्रित बहसहरु सुरु भएका छन्।
बैंकमा बसेर काम गर्ने कर्मचारीहरुले ऋणिसँग कमिसन लिंदै ऋण प्रवाह गरेको, ऋणि(क्लाइन्ट) बाट लगातार लाभ लिएको, ऋणिकै खर्चमा विदेश घुम्न गएको, सिमेन्ट, गिटीबालुवा लगायतका सामाग्री समेत घूसको रुपमा लिएको लगायतका पुष्टि हुने प्रमाणहरु फेला पर्दा पनि कर्मचारीलाई स्पष्टीकरण लिन नपाउने हो ? बैंकिङजस्तो सम्वेदनशील संस्थामा आर्थिक अपचलन गर्ने, मोटो रकम ऋणको रुपमा दिलाइदिने भन्दै कमिसन लिने, क्लाइन्टको नामबाट लोन निकालेर आफन्तको ऋण तिर्ने जस्तो प्रवृतिहरु बढेपछि बैंक व्यवस्थापन नझस्किने कुरै भएन ।
माथि उठाइएका विषयहरुलाई मिहीन ढंगले हेर्ने हो भने हेटौडास्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत निराजन देवकोटाको आत्महत्याको कारण फेला पार्न सकिन्छ ।
तत्कालीन मेगा बैंकको हेटौडा शाखाका प्रबन्धक समेत रहेका देवकोटाले केही दिनअघि त्रिशुली नदीमा हामफालेर आत्महत्या गरेको खबर बाहिरिएको छ । हालसम्म उनको शव भने भेटिएको छैन ।
बैंकको उच्च व्यवस्थापनको टर्चर सहन नसकेर देवकोटाले आत्महत्या गरेको प्रचार गरिए पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा भने फरक तथ्यहरु फेला परेका छन् ।
यो घटनाको विषयमा राष्ट्रबैंकले पनि आफ्नै ढंगले अनुसन्धान गरिरहेको छ।
प्रारम्भिक तथ्य के–के भेटियो ?
प्रहरीस्थित उच्च स्रोतहरुकाअनुसार प्रारम्भिक अनुसन्धानका क्रममा फेला परेका तथ्यहरुले आत्महत्याको बाटो रोजेको भनिएका देवकोटाको अस्वभाविक जीवनशैली, आर्थिक प्रगति र ऋणि(क्लाइन्ट)हरुसँगको अस्वभाविक उठबस र सम्बन्ध नै रहेको देखाएको छ ।
‘अनुसन्धानको क्रममा प्रारम्भिक रुपमा हाम्रो सम्पर्कमा आएका हेटौडाका केही ऋणिहरुले दिएको जानकारी अनुसार देवकोटाले ठूला साइजका लोन प्रवाह गर्दा कमिसन लिने गरेको पाइएको छ । क्लाइन्टले देवकोटा र उनका आफन्तको खातामा नै कमिसनको पैसा हालिदिने गरेका रहेछन् ।’ प्रहरी स्रोतले भन्यो–‘क्लाइन्टले दिएको जानकारीअनुसार सम्बन्धित खाताहरुको स्टेटमेन्ट हेर्दा समेत त्यो कुराको पुष्टि भयो ।’
क्लाइन्टबाट कमिसन लिएको, ठूला क्लाइन्टसँग भारतदेखि दुबईसम्म पटक–पटक उनीहरुकै खर्चमा घुम्न गएको, घुमाइदिएबापत अनावश्यक ढंगले लोन स्वीकृत गराएको, हेटौडा बजार क्षेत्रबाट भवन निर्माणका लागि भन्दै सिमेन्ट, रड र बालुवागिटी समेत उठाएर पैसा नतिरेको लगायतका विषयहरु अनुसन्धानका क्रममा बाहिर आएका प्रहरी स्रोतको भनाई छ ।
‘यी सबै विषयहरुमाथि अझ गहिराईमा गएर अनुसन्धान हुनेछ । तर प्रारम्भिक रुपमा हेर्दा आत्महत्याको बाटो रोजेको भनिएका देवकोटाकाले पदको व्यापक दुरुपयोग गरेको देखिन्छ ।’
स्रोतले भन्यो–‘पछिल्लो समय राजीनामा गर्ने अवस्था, बाहिर आएजस्तो बैंक व्यवस्थापनले टर्चर नै पो दिएको हो कि भन्ने कोण लगायतबाट पनि हामीले अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा देवकोटा हेटौडाकै प्रभू बैंकमा कार्यरत रहेको अवस्थामा भल्टबाट पैसा झिकेर मिटरब्याजमा लगाउने प्रकरणमा समेत जोडिएका भेटिएको छ । त्यही प्रकरण समाचार नै बन्ने गरी बाहिर आएपछि प्रभू बैंकले कारबाही गरेको तथ्य पनि फेला परेको स्रोत बताउँछ । त्यसपछि उनी मेगा बैंकसँग जोडिएका थिए ।
के भन्छ बैंक ?
प्रारम्भिक रुपमा मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरपछि देवकोटाले गरेको गलत कामको विषयमा हेटौडा शाखाकै कर्मचारीहरुबाट बैंक उच्च व्यवस्थापनमा उजुरीहरु आउन थालेका थिए । एकदुईवटा उजुरी हेरेपछि शंका लागेलगत्तै बैंकले देवकोटालाई हेटौडा शाखाको सेकेण्डम्यान बनाएको थियो । योसँगै बैंक व्यवस्थापनले पनि उनीविरुद्धको उजुरी लिएर आफ्नै ढंगले अनुसन्धान गर्न थालेको थियो । सो क्रममा देवकोटाको जोडबलमा मेगा बैंकले स्वीकृत गरेका कतिपय लोनका फाइल नै ‘शंकास्पद’ भेटिएका छन् ।
बैंकले देवकोटाको विषयमा अनुसन्धान थालेको विषय हेटौडा शाखाबाटै चुहिएपछि त्यहाँका क्लाइन्टहरुले समेत उनीविरुद्ध उजुरी हाल्न थालेका थिए । क्लाइन्टहरुले लोन स्वीकृत गर्दा कमिसन लिएका केही प्रमाणहरु पेश गरेका थिए ।
सो क्रममा एउटा करिब ६५ करोडको लोनमा पनि शंका लागेर व्यवस्थापनले देवकोटालाई त्यस विषयमा प्रष्ट पार्न भनेको थियो । ६५ करोडको लोन लिएका ऋणिसँग पटक–पटक भारतदेखि दुबईसम्म घुम्न गएको, आर्थिक प्रलोभनमा परेको प्रमाणसहित बैंकले देवकोटालाई प्रश्न सोधेको थियो । शाखा प्रबन्धकको रुपमा रहेर काम गर्दा अनियमितता गरेको प्रमाणसहित बैंकले स्पष्टीकरण सोधेपछि उनी अत्तालिएका थिए ।
त्यसपछि उनी काठमाण्डौ आएका थिए । केही पटक काठमाण्डौ आएर उनले स्पष्टीकरण समेत दिएका थिए ।
तर, प्रमाणहरु उनको विरुद्धमा देखिएपछि बैंकले ६५ करोडको ठूलो साइजको लोन अन्य बैंकमा सार्ने काम गरेर बैंकबाट एक्जिट हुन भनेको थियो ।
आफ्ना कर्तुतहरु खुलेपछि देवकोटाले राजीनामा समेत दिएका थिए । सो आधारमा बैंकको एचआरले ‘एक्जिट इन्टरभ्यू’ पनि लिएको थियो । सो क्रममा देवकोटाले बैंक व्यवस्थापनप्रति कुनै पनि गुनासो नगरेका स्रोत बताउँछ ।
राजीनामा गरे पनि बैंकले उनलाई थप अनुसन्धान गर्नुपर्ने आवश्यक ठानेर काठमाण्डौ सरुवा गरेको थियो । बैंकले ‘६५ करोडको ठूलो लोन अरु बैंकमा सार्नू वा सेटल गर्नू, त्यसपछि राजीनामा स्वीकृत हुन्छ’ भनेको थियो । त्यो कुरामा सहमति जनाएर ‘असोजभित्र काम सक्छु’ भन्दै देवकोटा हेटौडा फर्किएका थिए । तर, पुनः त्यहाँका एक कर्मचारीलाई लिएर काठमाण्डौ आउने क्रममा बीच बाटोबाटै उनी वेपत्ता भएका थिए ।
‘पछिल्लो समय हेटौडाबाट काठमाण्डौ आउने क्रममा बीच बाटोमै गुण्डा टाइपको एउटा क्लाइन्टले ‘मेरो पैसा खाएर कति दिन भाग्छस’ भन्दै कठालो समेत समातेको समेत जानकारीमा आयो ।’ बैंक स्रोतले भन्यो–‘पछि हेटौडा शाखाबाट काठमाण्डौ आएका बैंकका कर्मचारीबाट देवकोटाका थप विषयहरु खुलेका थिए ।’
ती कर्मचारी आएर प्रमाणसहितका थप सूचना दिएकै साँझ देवकोटा त्रिशुली नदीमा वेपत्ता भएको विषय बाहिर आएको थियो ।
यो विषय बाहिर आएपछि बैंक व्यवस्थापन पनि तनावमा छ । गलत गर्ने कर्मचारीलाई स्पष्टीकरण सोध्ने, दोषी देखिए कारबाही गर्ने, मुख्य कार्यालय तान्ने लगायतका विषय ठूलो नभए पनि तथ्यलाई तोडमोड गर्न खोजिएकोमा बैंकका उच्च अधिकारी दिक्क छन् ।
‘के अब हामीले गलत गर्ने कर्मचारीलाई त्यसै छाडिदिनुपर्ने हो ? सप्रमाण गलत भएको कुरा पुष्टि भइसक्दा समेत स्पष्टीकरण सोध्न नमिल्ने हो ? बैंकको जिम्मेवार पदमा बसेर गरेको अनियमित कामको विषयमा आँखा चिम्लिदिनुपर्ने हो ? घूस खाएर काम गर्नेहरुलाई केही भन्नै नहुने हो ?’ बैंकका उच्च अधिकारीहरु भन्छन्–‘बाहिर आएजस्तो हामीले कुनै टर्चर दिएको छैन । पुष्टि गरे हामीमाथि के कारबाही हुन्छ, भोग्न तयार छौं । जेल नै बस्न परे पनि बस्न तयार छौं । तर गडबड गर्ने कर्मचारीलाई यो वा त्यो कारणले छाडिन्न । घूस खाने कर्मचारीलाई हाम्रो बैंकमा कुनै पनि स्थान छैन।’
के भन्छ राष्ट्र बैंक ?
राष्ट्र बैंकका एक उच्च अधिकारीले पनि घटना र त्यससँग जोडिएको तथ्यमा कतिपयले खेल्न खोजेको दाबी गरे । 'अहिलेसम्म कुरा बुझ्दा बैंकले आत्महत्या नै गर्ने गरी टर्चर दिएको देखिन्न ।' ती अधिकारीले भने-'कर्मचारीले फट्याईं गरे स्पष्टीकरण सोध्ने, प्रमाणका आधारमा पुष्टि भए निलम्बन गर्ने, सरुवा गरेर थप अनुसन्धान गर्ने काम जुनसुकै संस्थाले गर्न पाउँछ । यो नियमित र स्वभाविक प्रक्रिया पनि हो । यसैलाई टर्चर भन्न मिल्दैन ।'
तर, यो विषय भर्खर मात्र बाहिर आएको र धेरै विषय प्रष्ट हुन बाँकी रहेकोले अहिले नै निश्कर्षमा पुगिहाल्नु हतारो हुने ती अधिकारी प्रष्ट पारे ।
के भन्छन् परिवार ?
देवकोटाका बुबा नारायणप्रसाद राष्ट्रिय सहकारी दुग्ध विकास संघका अध्यक्ष र सहकारी अभियन्ता हुन्। उनी तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल निकट व्यक्ति हुन् । नारायणप्रसाद देवकोटा हाम्रो सम्पर्कमा आउन चाहेनन् । तर, उनका एक आफन्तले बताएअनुसार देवकोटा परिवार बैंककै टर्चरका कारण यस्तो घटना भएको दाबी गर्छ । ‘उहाँको बुबाले सीइओसँग भेटघाट गर्ने टाइम माग्नुभएको छ रे । त्यसपछि थप कुरा प्रष्टिएला।’ उनले भने–‘छोराले डायरीमा लेखेको नोट लगायत पढ्दा चाहिँ उसलाई टर्चर नै थियो कि भन्ने उहाँको भनाई छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19