काठमाण्डौ ।अमेरिकाले १७१ वटा बोइङ विमानको उडानमा प्रतिबन्ध लगाएको छ ।

अलास्का एयरलाइन्सको विमान उडिरहेका बेला एक टुक्रा भाँचिएर अलग भएपछि अमेरिकाको संघीय उड्डयन प्रशासन एभिएशन एडमिनिस्ट्रेसन(एफएए) ले १७१ वटा विमानलाई प्राविधिक जाँच पूरा नहुन्जेल सम्मका लागि उडानमा  प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

एफएएका अनुसार यो निर्णयबाट अमेरिकाका ‘बोइङ ७३७ म्याक्स ९’ का १७१ वटा विमान प्रभावित हुनेछन् ।

युनाइटेड एयरलाइन्सले आफ्ना ७९ वटा बोइङ ७३७ म्यास ९ विमानमध्ये केहीको एफएएले प्राविधिक जाँच गरेको बताएको छ ।

प्राविधिक जाँच गर्नुपर्दा ६० वटा उडान रद्द हुने सम्भावना छ ।सामान्यतया एउटा हवाई जहाज जाँच गर्न चारदेखि आठ घण्टासम्म समय लाग्छ ।
गत शुक्रबार अमेरिकाको पोर्टल्याण्ड ओरेगानबाट क्यालिफोर्निया गइरहेको अलास्का एयरलाइन्सको हवाई जहाजको एक हिस्सा हावाको दबावमा फुटेर  तल खसेको थियो ।

त्यसपछि हवाई जहाजलाई आकस्मिक अवतरण गराइएको थियो ।

उक्त हवाई जहाजमा १७१ यात्री र चालक दलका ६ सदस्यहरु थिए । उनीहरु सबै सकुशल छन् ।-एजेन्सी