काठमाण्डौ । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्दै १ः१.५ को अनुपातमा हकप्रद सेयर निश्कासनको निर्णय गरेको छ । 

आइतबार पोखरामा सम्पन्न साधारणसभाले आ.व.२०७४/०७५ को मुनाफावाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो । 

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बोनस शेयर जारी गरे पश्चात कायम हुने कुल चुक्तापुँजीको १ बराबर १.५ को अनुपातमा(१५० प्रतिशत) हकप्रद शेयर जारी गरी पुँजी बृद्धि गर्ने प्रस्ताव पारित गरेको संस्थाका अध्यक्ष उतम भ्लोनले बताए ।

सभामा सञ्चालक समितिका अध्यक्ष उतम भ्लोनले प्रस्तुत गरेको आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन  सर्बसम्मतिले पारित गरेको जनाइएको छ। 

सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७५ आषाढ मसान्त सम्मको वासलात, आ.व. २०७४/०७५ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी सर्बसम्मतीले पारित गरिएको बताइएको छ । 

साधारणसभामा संस्थाका संचालक गोविन्द घिमिरेले एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको भाबी योजना बारे प्रकाश पारेको संस्थाका निमित प्रमुख कार्यकारी अधिकृत रामप्रसाद मिश्रले बताए ।

पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले हाल देशका ५४ वटा जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु स्थापना गरी लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । 

एनएमबि बैकको सहायक कंपनीका रुपमा रहेको यस वित्तीय संस्थाको हाल करीब रु २ अर्ब ५१ करोड कर्जा लगानी र निक्षेप करीब रु ८५ करोड रहेको निमित प्रमुख कार्यकारी अधिकृत रामप्रसाद मिश्रले बताए ।