काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। 

संस्थाले आज एक सूचना प्रकाशित गरी गत वैशाख ७ गते सम्पन्न १० औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७६/७७ का लागि पारित ९.७३ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर सेयरधनी स्वयंले भुक्तानी गर्नुपर्ने भएकाले करबापतको रकम जम्मा गर्न कम्पनीले सेयरधनीहरुलाई आग्रह गरेको हो। 

साविक जनसेवा लघुवित्त र कालिका लघुवित्त आपसमा मर्च भई कालिका लघुवित्त वित्तीय संस्थाको नामबाट २०७६ पुस २३ गतेबाट एकीकृत कारोबार सुरु भएको थियो। उक्त मितिपश्चात सेयर खरिद गरेका सेयरधनीहरुका हकमा सो थप सेयरमा प्रचलित आयकर ऐन, २०६३ अन्तर्गतको व्यवस्थाबमोजिम कर लाग्ने भएकोले कर तिर्न संस्थाले सेयरधनीहरुलाई आग्रह गरेको छ।

कम्पनीले करबापतको रकम जम्मा गरेपश्चात मात्रै बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने भएकाले बोनस सेयरबापतको रकम एनएमबी बैंक वालिङ शाखामा रहेको संस्थाको खातामा जम्मा गरी संस्थाको ई–मेल ठेगानामा पठाउन सकिने संस्थाले जनाएको छ । यसरी रकम जम्मा गर्दा अनिवार्य रुपमा डिम्याट खाता खुलाउन पर्ने संस्थाले जनाएको छ। 

कालिका लघुवित्तले उक्त बोनस सेयर सेयरधनीको डिम्याट खातामा पुस १९ गतेदेखि जम्मा गर्न थालेको छ।