काठमाण्डौ । हकप्रद सेयर निष्कासनको चर्चामा रहेको एसियन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरणपछि मात्रै हकप्रद निष्कासन गर्ने भएको छ ।
नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रदको बाटो रोजेको थियो । कम्पनीको हाल कायम चुक्तापूँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले कायम चुक्तापूँजीको ४२ प्रतिशतसम्म हकप्रद निष्कासन गरी ४ अर्ब ४८ करोड ५ लाख रुपैयाँ पूँजी पुर्याउने चर्चा छ । तर कम्पनीले भने आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई बोनस वितरण गरेपछि मात्रै हकप्रदको प्रक्रिया अघि बढाउने बताएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को एक्चुरी भ्यालुएसनको कार्य सकाएर आफ्ना बीमितहरुका लागि नयाँ बोनसदर समेत घोषणा गरिसकेको छ । साथै कम्पनीले आर्थिक वर्ष २०७९/८० को समेत एक्चुरी भ्यालुएसनको कार्य अघि बढाइसकेको कम्पनीका एक अधिकारीले बताए ।
‘आर्थिक वर्ष २०७९/८० को एक्चुरी भ्यालुएसनको प्रक्रिया तीव्र रुपमा अघि बढिसकेको छ, अब छिट्टै एक्चुरीको काम सकाई बोनस वितरण गर्ने कुरा भइरहेको छ ।’ ती अधिकारीले भने, ‘बोनस वितरणपछि मात्रै हकप्रदको प्रस्ताव लैजाने कम्पनीको योजना रहेको छ ।’ साथै कम्पनीले यसअघि बीमा प्राधिकरणमा हकप्रद निष्कासन गरी पूँजी बृद्धि गर्ने क्यापिटल प्लान पेश गरिसकेको ती अधिकारीले बताए ।
‘हामीले प्राधिकरणमा हकप्रद निष्कासन गरी पूँजी बृद्धि गर्ने क्यापिटल प्लान पेश गरिसकेका छौं, तर ठ्याक्कै यति उति प्रतिशत तोकेर भने फाइनल प्रस्ताव पेश गर्न बाँकी नै छ’, उनले भने, ‘पहिला बोनस वितरण गर्ने र अपुग भएको पूँजी बराबरको प्रतिशत तोकेर मात्रै प्राधिकरणमा पेश गर्ने कम्पनीको योजना रहेको छ ।’
कति प्रतिशत हकप्रद जारी गर्ने भन्ने निर्णय बोनस वितरणपछि मात्रै निर्धारण हुने ती अधिकारीले बताए । ‘कम्पनीको क्यापिटल प्लानअनुसार १२ देखि ४५ प्रतिशतसम्म हकप्रद निष्कासन गर्ने हो, तर एक्चुरी भ्यालुएसनपछि कम्पनीले कति सम्म बोनस बाँड्ने क्षमता राख्छ, हकप्रद पनि त्यसैमा भरपर्छ’, ती अधिकारीले भने ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० को साधारण सभामा बोनस सेयर वितरण र हकप्रद निष्कासनको मूख्य प्रस्ताव राख्न सक्ने ती अधिकारीले बताए ।
यस्तो छ कम्पनीको बोनस हिस्ट्री
कम्पनीले आर्थिक वर्ष २०७०/७१ देखि आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्दै आइरहेको छ । १० वर्षे लाभांश इतिहासमा कम्पनीले आफ्ना सेयरधनीहरुलाई २८.५०प्रतिशतसम्म बोनस वितरण गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा २८.५०प्रतिशतका दरले बोनस बाँडेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७२/७३ मा २० प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा ४ प्रतिशत, आ.व. २०७४/७५ र २०७५/७६ मा २ः१ र १ः०.६ अनुपातमा हकप्रद सेयर, आर्थिक वर्ष २०७६/७७ मा २५ प्रतिशत बोनस, आ.व.२०७७–७८ मा १४.५० प्रतिशत बोनस र आर्थिक वर्ष २०७८/७९ मा ८.५० प्रतिशत बोनस वितरण गरेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago