काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई पूँजी बृद्धि गर्न दबाब दिइरहेको छ ।

प्राधिकरणले सबै बीमा कम्पनीलाई पूँजी बृद्धि योजना पेश गर्न समेत निर्देशन दिएको छ । प्राधिकरणको निर्देशन बमोजिम आधाजसो बीमा कम्पनीले मात्रै पूँजी बृद्धि योजना पेश गरेका छन् । प्राधिकरणका अनुसार मर्जरमा गएका कम्पनीहरुले तोकिएको चुक्तापूँजी पुर्‍याउन थप एक वर्ष अवधि पाएका छन् । 

प्राधिकरणले मर्जरमा गएका कम्पनी र आफैंले पूँजी बृद्धि गरेका वा लागि परेका कम्पनीलाई हकप्रद जारी गर्न दिने निर्णय समेत गरेको छ ।

तर अधिकांश कम्पनी हकप्रद जारी गर्न अनिच्छुक देखिएका छन् । हालसम्म २–४ वटा कम्पनीले मात्रै हकप्रद निष्कासनको प्रस्ताव पेश गरेको प्राधिकरणका प्रवक्ता तथा कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । 

प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्तापूँजी पुर्‍याउन दिर्नेशन दिएको थियो । पूँजी बृद्धि गर्न ९ जीवन बीमा कम्पनी मर्जरमा सहभागी भएका थिए । 

मर्जरमा गएर पनि पूँजी नपुग्ने कम्पनीमा सूर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स छन् । जसमध्ये सूर्यज्योति र प्रभु महालक्ष्मीले पूँजी बृद्धि योजना प्राधिकरणमा पेश गरिसकेका छन् ।

उता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले भने हालसम्म प्राधिकरणमा पूँजी बृद्धि योजना पेश गरेको छैन । मुनाफाबाट बोनस बाँड्ने वा हकप्रद सेयर जारी गरेरै बाँकी पूँजी पुर्‍याउने तयारी रहेको कम्पनीका सीईओ शिवनाथ पाण्डेले बताए । 

‘मर्जरमा गएका कम्पनीलाई पूँजी बृद्धि गर्न थप एक वर्ष समयावधि दिइएको छ, तत्कालै क्यापिटल प्लान बनिसकेको छैन तर प्राधिकरणको निर्देशन मान्नै पर्छ जसअनुसार कम्पनीले बोनस सेयर जारी गरेर वा हकप्रद निष्कासन गरेर पूँजी पुर्‍याउन सक्छ’, पाण्डेले विजशाला डटकमसँग भने । 

कम्पनीले तत्कालै पूँजी बृद्धि योजना बनाइ नसकेको र अब सोबारे सञ्चालक समिति बैठक बसेर मात्रै निश्चित हुने उनले बताए ।

‘कम्पनीसँग पूँजी बृद्धि गर्ने क्षमता छ । हामी मर्जरमा गएका कारण पूँजी बृद्धि गर्न अझै समय छ । तर प्राधिकरणको निर्देशन आइसकेको हुनाले अब योजना बनाउने तयारीमा छौं’ उनले भने, ‘यतिउति प्रतिशत बोनस बाँडेर अपुग पूँजी पुर्‍याउने भन्दापनि कम्पनीको नाफाको आधारमा एक्चुरी भ्यालुएसनपश्चात् मात्रै कति बोनस बाँड्ने कुरा तय हुनेछ ।’ 

उनकाअनुसार ठूलो पूँजी अपुग भएको खण्डमा कम्पनीले हकप्रद सेयर समेत जारी गर्न सक्नेछ ।कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट भने लाभांश नबाँड्ने घोषणा गरिसकेको छ ।

कम्पनीको गत आर्थिक वर्ष २०७९/८० को भने बीमाकोष तथा नाफाको एक्चुरी भ्यालुएसन प्रक्रिया भइरहेको उनले बताए ।

‘सम्भवतः एक्चुरीको काम अब चाँडै सकिन्छ, गत आर्थिक वर्षको मुनाफाको आधारमा कम्पनीले बीमांकी मूल्यांकनपश्चात बोनस सेयर जारी गरेर अपुग पूँजी पुर्‍याउन सक्नेछ’ उनले भने । 

प्राधिकरणले तोकेको न्यूनतम चुक्तापूँजी पुर्‍याउन कम्पनीलाई अझै ८१ करोड ६० लाख रुपैयाँ पूँजी अपुग छ । यदि बोनस सेयरबाटै पूँजी पुरयाउने हो भने कम्पनीले गत आवको मुनाफाबाट १९.५० प्रतिशत बोनस सेयर जारी गर्नुपर्ने छ । 

कम्पनीको हालकायम चुक्तापूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ ।