Nepal Rastra Bank
काठमाण्डौ । उद्योगी व्यवसायीले बैंकको ब्याजदर बढ्दा समस्या आएको बताएका छन्। बैंकबाट लिएको कर्जाको ब्याज बढेको तर फिर्ता दिन उद्योगीसँग पैसा नभएका कारण ठूलो समस्या आएको उनीहरूको गुनासो छ।
नेपाल बैंकर्स एसोसिएसनले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले यसरी नै ऋणको ब्याजदर बढ्दै जाने हो भने उद्योगले ऋण तिर्न सक्ने अवस्था नरहने बताए।
उनले भने,‘ लगानी अभावमा छटपट्टिरहेका उद्यमीलाई ब्याजदर वृद्धिले अझ ठूलो समस्यामा पारेको छ।' उनले बैंकले नाफामात्र हेरेर ब्याजदर बढाइरहेको आरोप लगाए। ‘बैंक व्यापार गर्न बसेको छ', उनले भने, ‘असल र खराब तिर म जान चाहन्न। यो नाफा कमाउने बेला होइन।' सहयोग बैंक र उद्योगी दुवैबीच हुनुपर्ने उनको सुझाव छ। अहिले ‘कस्ट अफ फन्ड' ०.५देखि ०.७ प्रतिशतले मात्र बढेको छ। बैंकले कर्जाको ब्याजदर वृद्धि गरिसकेको छ। ब्याजदर वृद्धिले उद्योगी आक्रोशित भएका छन्। यो ब्याजदर महिना दुई महिनामा परिवर्तन गर्न उनले बताए।
नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले अब अर्को साताबाट ब्याजदरमा स्थायित्व आउने बताए। कर्जा दिने लगानीयोग्य पुँजी नहुँदा ब्याजदर बढाउनुपरेको उनको भनाइ थियो।
कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष किशोर महर्जनले तरलता अभाव, अहिले अवस्थामा बारेमा कार्यपत्र प्रस्तुत गर्दै अहिलेको समस्या बैंकको मात्र नभइ अर्थतन्त्रकै चुनौती भएको बताए।
जलविद्युत् उद्यमी ज्ञानेन्द्रलाल प्रधानले बैंकको दुई प्रतिशत ब्याजदर बढ्दा जलविद्युत् क्षेत्रको प्रतिफल १४ प्रतिशतले घट्ने बताए। बढ्दो लागतमा उत्पादन गरिएको विद्युत् महँगो बिक्री गर्न सक्ने अवस्था छैन। उनले भने, ‘बिजुलीको मूल्य पहिला नै फिक्स छ।' परियोजना पूरा हुन नपाएपछि पुनः कहिलेदेखि लोडसेडिङको भार थेग्नुपर्ने हो थाहा छैन। मत भन्छु हाइड्रोपावरमा लगानी गर्न छाडिदिनुस्, सन् २०१८ सम्ममा केही परियोजना आफैं लिलाममा आउनेछन्। जलविद्युत् क्षेत्रका लगानीकर्तालाई सरकारले रकम दिन्छु भनेर गरेको प्रतिबद्धतासमेत पूरा गरेको छैन। यस्तै हो भने देश आर्थिक नीतिकै कारण ध्वस्त हुन्छ।
सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बैंक र उद्यमी एउटै सिक्का दुई पाटा भएकाले बैंकर्सको मर्म उद्यमी र सरकार दुवैले बुझ्नुपर्ने बताए।
‘बैंकलाई नाफा नखाउभन्दा अपाच्य लाग्छ, नाफा कमाउनुपर्छ तर अनुचित तरिकाले होइन, शुसासनलाई पालना गरेर', उनले भने। उनले नियामक निकाय एवम् नीति निर्मातालाई भने ‘कर्जाको पहुँच रोकिनु हुन्न, नीति निर्माताले विचार गर्नुपर्ने विषय नै यही हो। '
कार्यक्रममा फोर खुला गरिएपछि बोलेका उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले केही बैंकले महत्वांक्षी कर्जा बिस्तार गर्दा यो अवस्था आएको बताए। बैंकिङ क्षेत्रको समस्याको भार निजी क्षेत्रले मात्र बोक्नु नपर्ने बताउँदै लगानीकर्ताको लाभांश केही खुम्चँदा फरक नपर्ने र अवस्थालाई बुझ्नुपर्ने उनको भनाइ छ। नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष राजेन्द्र मल्लले अटो कर्जा बन्द गर्नुपर्ने बताए। ‘अटो आयात गरेर राजस्व बढाउनुभन्दा आय कर र मूल्य अभिवृद्धि करबाट देश चल्नुपर्नेपर्छ।' यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago