काठमाण्डौ । नेपाल बैंकर्स संघले ब्याजदरमा लामो समयदेखि कायम भद्र सहमतिको विषयमा ठोस निर्णय लिन सकेन । 

बुधबार डाकिएको बैठकमा अधिकांश बैंकरले ब्याजदरको भद्र सहमति खारेज हुनुपर्ने माग गरेका थिए । सो मागको विषयमा आवश्यक निर्णय लिन आगामी साता बैठक बस्ने निर्णय भएको एक बैंकरले जानकारी दिएका छन् । 

उनका अनुसार नेपाल राष्ट्रबैंकले परिपत्रमार्फत बैंकहरुको स्प्रेड दर गणनाको सूत्र परिवर्तन गरेको र यसले बैंकहरुको आम्दानीमा निकै ठूलो प्रभाव पर्ने भन्दै यो लगायतका व्यवस्था कार्यान्वयनको सन्दर्भमा पुनर्विचार र केही खुकुलो नीति लिइदिन अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । 

राष्ट्रबैंकले स्प्रेडको गणनामा नयाँ व्यवस्था गर्दै निक्षेप र ऋण लगानीको अंश मात्रलाई सहभागी गराउनुपर्ने, गणनाबाट ऋणपत्रको लगानीलाई हटाउनुपर्ने व्यवस्था गर्दा बैंकहरुको आम्दानीमा निकै ठूलो प्रभाव पर्ने समेत बैंकरहरुको निश्कर्ष छ ।

काउन्टर साइक्लिक बफरमा पनि क्यापिटल एडेक्वेसीमा २ प्रतिशत थपिएको छ । यो व्यवस्थालाई समेत क्रमशः लागू गर्नुपर्ने बैंकरहरुको धारणा छ ।

राष्ट्र बैंकले आ, ब २०७६/७७ को लागि कमन इक्वीटी टियर १ को पूँजीकोषमा काउण्टर साइक्लिकल बफरका कारण बित्तिय क्षेत्रबाट यस आर्थिक वर्षमा थप गरिने जोखिम सम्पत्तिको लागि र हाल सम्मको कायम रहेको सम्पत्तिको ब्यवस्थापन गर्न निकै ठूलो आकारको पुँजीकोष अभाव हुनसक्ने देखिएको र त्यसको परिपूर्ति यसै आर्थिक वर्षमा पूरा गर्नुपर्ने व्यवस्थाले बैंकहरुको लाभांश क्षमता घट्ने र यसका कारण बैंकले नगद लाभांश दिन नसक्ने अवस्था सिर्जना भएको बैंकरहरुको ठम्याई थियो । स्प्रेड गणना विधि एक्कासी परिवर्तन हुँदा यसले बजारमा ठूलो असर पुर्याउने भन्दै यो विषयमा गम्भीर बनिदिन केन्द्रीय बैंकलाई आग्रह गरिने निर्णय समेत बैठकले गरेको बताइएको छ ।