काठमाण्डौ । ब्याजदर सम्बन्धी नेपाल बैंकर्स संघले गरेको भद्र सहमति खारेज भएलगत्तै वाणिज्य बैंकहरुले उच्च ब्याजदरको अफरसहित मुद्धती तथा बचत योजना सार्वजनिक गर्ने होडबाजी सुरु गरेका छन् । 

भद्र सहमति खारेजीको निर्णय आएकै साँझ एनआइसी एशिया बैंकले मुद्धती निक्षेपमा १२ प्रतिशत ब्याजको अफरसहितको स्किम ल्याएको थियो ।

त्यसको भोलिपल्ट, अर्थात सोमबार अर्को वाणिज्य बैंक सिभिल बैंकले एनआइसीलाई समेत उछिन्दै साधारण बचत खातामा १० प्रतिशत र मुद्धतीमा १२.२२ प्रतिशतको अफरसहितको स्किम सार्वजनिक गरेको छ ।

सिभिल बैंकले “चन्द्रसूर्य बचत खाता” योजनाअन्तर्गत सर्वाधिक ब्याजर अफर गरेको हो ।

बैंकले यस बचत खातामा सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ । न्यूनतम मौज्दात रु. १०,०००।– रहेको यस बचत  खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस.बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट तथा रु पाँच लाखसम्मको दूर्घटना मृत्यु÷अपाङ्गताको निःशुल्क बीमाका साथै ग्राहकहरुलाई ग्राहकहरुकै घरदैलोमा गई सेवा प्रदान गरिने बैंकले जनाएको छ । 

यस्तै, २२२ दिने व्यक्तिगत मुद्दती खातामा १२.२२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । यो खातामा न्यूनतम मौज्दात रु. तीनलाख तोकिएको छ ।