काठमाण्डौ । वाणिज्य बैंकहरुबीच ब्याजदर घटाउने भद्र सहमति पुनः कायम भएको छ । बैंकहरुबीच व्यक्तिगत मुद्धतीको ब्याजदर ९.२५ प्रतिशत बनाउने सहमति भएको हो । यसमा ०.५ प्रतिशत थपिँदा समेत व्यक्तिगत मुद्धतीको ब्याज ९.७५% भन्दा माथि जाने छैन ।

नेपाल बैंकर्स संघले आह्वान गरेको बैठकमा सहभागी २८ वटै वाणिज्य बैंकका सीइओ र तिनका प्रतिनिधिबीच यस्तो सहमति भएको हो । 

बैंकरहरुबीच बचतको ब्याजदर ६.५ प्रतिशत भन्दा माथि नजाने सहमति समेत बनेको छ । 

यसैगरी, संस्थागत निक्षेपतर्फको ब्याजदर अधिकतम ८.५ प्रतिशत कायम गर्ने सहमति बनेको छ । उनीहरुको १ प्रतिशत बिन्दुसम्म ब्याज बढाउन पाइन्छ। ब्याज दरको भुक्तानी त्रैमासिक रुपमा गर्नु पर्ने छ।

 

न्यूनतम ब्याज अन्तर २ प्रतिशत बिन्दु राख्नु पर्नेछ, यसो हुँदा कल डिपोजिटको ब्याज साढे ४ प्रतिशतमा झरेको छ।

नेपाल राष्ट्रबैंकको दवाबमा नेपाल बैंकर्स संघले बिहीबार दिउँसो बैंकका सीइओहरुलाई लञ्च मिटिङका लागि डाँकेको थियो । बैठकमा केन्द्रीय बैंकका प्रतिनिधि समेत सामेल थिए । 

बुधबार साँझ डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको उच्चस्तरीय सुझाव कार्यदलले प्रतिवेदन बुझाएपछि त्यसमा सामेल मुद्रा बजार सुधारका बिषय कार्यान्वयनमा ल्याउन मातहतका निकायलाई अर्थमन्त्रीले निर्देशन दिएका थिए । अर्थमन्त्रीको निर्देशनको कार्यान्वयनको सुरुवातमै नेपाल राष्ट्रबैंकले बैंक ब्याजदर घटाउने पहल थालेको हो ।