काठमाण्डौ । समस्याग्रस्त अवस्थामा रहेको नेपालकै पहिलो बैंक, नेपाल बैंक लिमीटेडमा नयाँ सीइओको रुपमा देवेन्द्रप्रताप शाहको प्रवेश भएसँगै बैंकले प्रगति पथमा आफ्नो पाइला बढाइरहेको छ । यही क्रममा बैंकलाई मजबुत बनाउन र अन्य वाणिज्य बैंकको प्रतिस्पर्धामा खरो उतार्ने उद्देश्यले नेपाल बैंक लिमीटेडले ९९.२ प्रतिशत सरकारी शेयर स्वामित्व रहेको एनआइडीसी डेभलपमेन्ट बैंकलाई आफूमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।
नेपाल बैंक लिमीटेडको केही दिनअघि बसेको संचालक समिति बैठकले एनआइडीसीलाई ‘अक्वायर’ गर्ने प्रस्ताव पारित गरेको हो । संचालक समितिले मर्जरका लागि समेत ढोका खुल्लै राखेको छ ।
बैंक उच्च स्रोतका अनुसार संचालक समितिबाट पारित सो प्रस्तावमा नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले हरियो झण्डा देखाएका छन् । ‘गभर्नर सा’बबाट अगाडि बढ्नका लागि स्पष्ट संकेत आएको छ ।’ संचालक समितिका एक अधिकारीले बिजशालासँग भने–‘सोही अनुसार हामीले यो प्रस्तावलाई अर्थमन्त्रालयमा पठाएका छौं, सरकारी निर्णय कुरेर बसिरहेका हौ ।’
देवेन्द्रप्रताप शाह सीइओको रुपमा नेपाल बैंक लिमीटेडमा प्रवेश गरेपछि यसले उल्लेखनीय प्रगति हासिल गरिरहेको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा यो बैंकको खूद नाफा ३६ करोडमा सीमित थियो । जबकि चालु आर्थिक वर्षको सोही अवधिमा बैंकले करिब डेढ अर्ब खूद नाफा गर्ने देखिएको छ ।
शाह आउनुअघि बैंकको क्यापिटल रेसियो(पूँजी अनुपात) समेत निकै कम थियो । तर उनी आएपछि हाल बैंकको पूँजी अनुपात ९ माथि उक्लिएको छ । वाणिज्य बैंकहरुको न्यूनतम पूँजी अनुपात १० हुन आवश्यक छ ।
बैंक स्रोतका अनुसार आन्तरिक रुपमा कमजोर नेपाल बैंकमा रहेको माइनस रिजर्बलाई प्लस बनाउनका लागि जग्गाजमीन र क्रस होल्डिङमा रहेका विभिन्न कम्पनीको शेयर बिक्रीको क्रम सुरु गरिएको छ । हाल यो बैंक १ अर्ब ५४ करोड नोक्सानमा छ । शाह आउनुअघि त बैंकको नोक्सानी ३ अर्ब माथि थियो । उनले निकै कडा मेहेनतका साथ ३ अर्बको नोक्सानीलाई १ अर्ब ५४ करोडमा झारेका हुन् । ‘माइनस रिजर्बलाई जिरो लेभलमा नल्याएसम्म पूँजी पुग्दैन ।’ बैंकका एक अधिकारीले भने–‘त्यही भएर माइनस रिजर्बलाई प्लस बनाउन बैंक नेतृत्व दौडिरहेको छ ।’
बैंकको नोक्सानी घटाउनैका लागि नेपाल इन्स्योरेन्समा बैंकले होल्ड गरेको ५० प्रतिशत शेयरमध्ये करिब ३५ प्रतिशत अर्थात १० लाख कित्ता शेयर बिक्रीका लागि बैंकले सूचना नै प्रकाशित गरिसकेको छ । न्यूनतम प्रति कित्ता ४ सय रुपैयाँ नघट्ने गरी शेयर खरीदका लागि टेण्डर हाल्न बैंकले सूचना जारी गरेको छ । यी शेयर बिक्रीबाट ५० करोड भन्दा बढी प्राप्त हुनेछ । बैंकले नागरिक लगानी कोषमा रहेको करिब एक अर्बको शेयर बिक्रीका लागि समेत आफ्नो तर्फबाट काम सकेर सरकार तथा कोषलाई अनुरोध गरिसकेको छ । तर सरकार र कोषले निर्णयमा ढिलाई गरिदिंदा ती शेयर बिक्रीको बाटो अझै खुलेको छैन । ‘नागरिक लगानी कोषको शेयर बिक्रीका लागि हामीबाट हुने प्रक्रिया सम्पन्न भइसकेको छ ।’ एक अधिकारीले भने–‘नागरिक लगानी कोष र सरकारको समेत स्वीकृति चाहिन्छ, त्यो काम चाहि हुन सकेको छैन ।’
बैंकको राष्ट्रिय बिमा कम्पनीमा समेत करिब ७० करोड रुपैयाँको शेयर छ । तर त्यहाँ पनि प्रक्रियागत अप्ठ्यारोका कारण भनेको समयमा(तत्काल) त्यो शेयर बिक्री हुने संभावना छैन । राष्ट्रिय बिमा कम्पनीको नियमावलीमा संस्थाको पहिलो साधारणसभा नभई शेयर बिक्री गर्न पाइदैन भन्ने बुँदा रहेको र कम्पनीको हालसम्म साधारणसभा नै नभएकाले आफूहरुले होल्ड गरेको शेयर बिक्री गर्ने बाटो तत्कालका लागि बन्द भएको बैंक स्रोतले जनाएको छ । बैंकले माइनस रिजर्बमा सुधार गर्नैका लागि दमौली लगायतका ठाउँमा रहेका जग्गाहरुको बिक्रीलाई समेत प्राथमिकतामा राखेको छ ।
नेपाल बैंकका उच्च अधिकारीका अनुसार नेपाल सरकारको निर्णयका आधारमा एनआइडीसीलाई एक्वायर गर्ने प्रक्रियाले तीव्रता पाउनेछ । ‘तर मर्जर पनि हुनसक्छ, दुवै सरकारी शेयर स्वामित्व अधिक भएका बैंकहरु भएकाले सरकारी निर्णय नै अन्तिम हुनेछ ।’ नेपाल बैंकका अर्का एक संचालकले भने–‘सानो साइजको बैंक भए पनि एनआइडीसी आयो भने हाम्रो संस्था बलियो हुन्छ भन्ने हाम्रो विश्लेषण हो ।’
नेपाल बैंक लिमीटेडको चुक्तापँुजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । बैंकले देशभरका १ सय २६ वटा शाखाबाट सेवा दिइरहेको छ । बैंकमा हाल २ हजार ६ सय कर्मचारी कार्यरत छन् ।
यस्तो छ एनआइडीसी

एनआइडीसी डेभलपमेन्ट बैंकको चुक्तापूँजी ४२ करोड रुपैयाँ रहेको छ । तर करिब ३ अर्ब रुपियाँको रिजर्ब छ । देशभर ५ वटा शाखा अन्तर्गत बैकिङ सेवा दिइरहेको यो बैंकमा सरकारको ९९.२ प्रतिशत र सर्वसाधारणको ०.७४ प्रतिशत शेयर स्वामित्व छ । २०१६ साल असारमा नेपाल इण्डष्ट्रियल डेभलपमेन्ट कर्पोरेसन(पछि औद्योगिक विकास निगममा रुपान्तरित)को रुपमा स्थापित यो संस्थाले ०६३ सालदेखि बैकिङ ऐन अन्तरगत राष्ट्रिय स्तरको विकास बैंकको रुपमा काम गर्न थालेको हो । सानो, तर मजबुत बैंकमा ४० स्थायी र ३५ अस्थायी कर्मचारी छन् । गत वर्ष सरकारले यो बैंकलाई पूर्वाधार विकास बैंकको रुपमा विकास गर्ने नीति सार्वजनिक गरेको थियो । तर त्यो काम हुन सकेन ।
२०७० सालमा एनआइडीसीले आन्तरिक रुपमा डिडिए गर्दा यसको प्रतिशेयर मूल्य ३८ सयको हाराहारीमा थियो । अहिले संस्था थप बलियो भएकाले शेयर मूल्य अझै बढेको हुनसक्ने सो संस्थाका एक अधिकारीले बताए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19