काठमाण्डौ । नेपाल बैंकर्स संघले ब्याजदरमा पुनः भद्र सहमति गरेलगत्तै बैंकहरुले ब्याजदर समायोजन गर्न थालेका छन् । 

बिहीबारदेखि नै बैंकहरुले ब्याजदर परिवर्तनको सूचना विभिन्न मिडिया हाउसहरुलाई दिइरहेका छन् । उनीहरुले पुरानो ब्याजदरसहित प्रकाशित विज्ञापन समेत होल्ड गर्न समेत संचारमाध्यमहरुलाई आग्रह गरेका छन् । 

यही क्रममा सेञ्चुरी कमर्सियल बैंकले एक विज्ञप्ति नै प्रकाशित गरी ब्याजदरमा परिवर्तन भएको जनाएको छ । 

असार ८ गते शुक्रबारदेखि लागू हुने गरी सेञ्चुरीले सबै प्रकारका बचत खातामा ७ प्रतिशत, व्यक्तिगत मुद्धती खातामा एकवर्षसम्मका लागि १०.५ प्रतिशत र संस्थागत मुद्धती खातामा १ वर्षसम्मका लागि १०.५ प्रतिशत ब्याजदर दिइने प्रष्ट पारेको छ । यी सबै खाताको ब्याजको त्रैमासिक भुक्तानी हुने बताइएको छ । 

नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकमा साधारण बचतमा ७ प्रतिशत, व्यक्तिगत मुद्धतीमा ११ प्रतिशतको ब्याजदर सीमा निर्धारणको सहमति भएको थियो ।