काठमाण्डौ। नेपाल राष्ट्र बैंकले दसैँतिहार जस्ता चाडपर्वमा हुने आर्थिक लेनदेनको कारोबार सिधै मोबाइल बैंकिङ वा यस्तै अन्य डिजिटल माध्यमहरू प्रयोग गर्न अनुरोध गरेको छ ।

तिहारको पूर्वसन्ध्यामा केन्द्रीय बैंकले तिहारको भाइटीकाको दक्षिण वा उपहारहरु समेत आफ्ना दिदीबहिनीहरूको सिधै बैंक खातामा जम्मा हुने गरी डिजिटल माध्यम प्रयोग गर्न सुझाव दिएको छ ।

‘तिहारको अवसरमा हर्षोल्लासका साथ भाइटीका मनाउँदै हुनुहुन्छ भने दाजुभाइले आफ्ना दिदीबहिनीलाई दक्षिणा वा उपहारस्वरुप नगदको सट्टा उहाँहरूकै खातामा रकम ट्रान्स्फरमार्फत उपहार दिई डिजिटल वित्तीय सेवाको बानी बसालौं’ केन्द्रीय बैंकले जारी गरेको वित्तीय चेतनामूलक सूचनामा उल्लेख छ । 

यो सजिलो र भरपर्दो मात्र नभई रकम तत्कालै प्राप्त हुने र सोझै बचत पनि हुने हुँदा बैंक वा वित्तीय संस्था वा एटीएमसम्म जाने झन्झट पनि नहुने बैंकले उल्लेख गरेको छ ।