reuters photo
काठमाण्डौ । राष्ट्रिय निर्वाचनको संघारमा भारतको आर्थिक वृद्धिदरमा गिरावट आएको छ ।
भारतको वार्षिकीकृत आर्थिक वृद्धिदर तेश्रो त्रैमास(डिसेम्बर)मा आएर ६.६ प्रतिशतमा सीमित भएको हो ।
अघिल्लो त्रैमासमा हासिल भएको ७.१ प्रतिशतको जीडीपी ग्रोथमा पहिरो गई ६.६ कायम भएको समाचारहरुमा जनाइएको छ । यो त्रैमासमा जीडीपीको प्रदर्शन विगत केही वर्षकै सबैभन्दा कमजोर देखिएको विश्लेषकहरुले बताएका छन् ।
रोयटर्सले भारतको जीडीपी ग्रोथ ६.९ प्रतिशत हुने पूर्वानुमान गर्दै आएको थियो ।
जीडीपी ग्रोथमा आएको यो गिरावटले दोश्रो कार्यकालका लागि प्रधानमन्त्रीको निर्वाचनको मैदानमा रहेका नरेन्द्र मोदीका लागि संकटको कारण बन्नसक्ने विश्लेषण गरिएको छ ।
भारतको निर्वाचन आगामी मई अगाडि नै हुनेछ र त्यसअघि मोदीले हाँकेको अर्थतन्त्रको राम्रै परीक्षा हुने देखिएको विश्लेषक बताउँछन् ।
नरेन्द्र मोदी सन् २०१४ को निर्वाचनबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनी शक्तिमा आएपछि लाखौ रोजगारीको सिर्जना गरेका थिए भने भारतको अर्थतन्त्रलाई बुस्ट गर्न सफल भएका थिए । तर यो बुस्ट धेरै दिनसम्म टिकेन । सन् २०१८ को मध्यमा ८.२ प्रतिशतको उचाईमा पुगेको जीडीपी ग्रोथ यतिबेला तल झरेको छ भने भारतमा बेरोजगारीको समस्या समेत चर्किन थालेको छ ।
तर, पछिल्लो पटक घटेकै दरमा समेत भारत विश्वभरमै तीव्र आर्थिक वृद्धि हुँदै गएको मुलुक हो । किनभने २०१८ को अन्तिम त्रैमासमा चीनको जीडीपी ग्रोथ ६.४ प्रतिशत मात्र छ । तर, यो तुलनाले भारतका मतदातामा कुनै अर्थ नराख्ने र उनीहरुले भारतको घट्दो ग्रोथलाई मात्र केन्द्रमा राखी मतदानको निर्णय गर्नसक्ने देखिन्छ ।
मोदीका लागि शहरी क्षेत्रका युवा तथा नयाँ मतदाता निकै ठूलो समस्या बन्नसक्ने सिएनएन मनीका विश्लेषकहरुले दाबी गरेका छन् ।
रोजगारीको अभावसँगै घट्दो आर्थिक वृद्धिले कृषि क्षेत्रको आम्दानी समेत घटाइदिनेछ, र, भारतमा कृषि क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण पाटो हो । यो तथ्यले मोदीको लोकप्रियता किसानको बीचमा समेत घटाइदिनसक्छ ।
भारतको स्ट्याण्डर्ड चार्टर्डका अर्थशास्त्री अनुभूति सहयको विश्लेषणमा अमेरिका र चीनबीचको व्यापार युद्ध जस्ता अन्तराष्ट्रिय कारण, बढिरहेको पेट्रोलियम पदार्थको मूल्य लगायतले भारतको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको हो ।
भारतको केन्द्रीय बैंक, रिजर्ब बैंक अफ इण्डियाले त्यहाँको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ब्याजदर घटाउने प्रयास समेत गरेको छ, तर यसले मात्र समस्याको समाधान नहुने अनुभूति बताउँछिन् । केन्द्रीय बैंकले चालेको यो कदमको परिणाम तत्काल नदेखिने उनको भनाई छ ।
-एजेन्सीहरुको सहयोगमा
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19