नयाँदिल्ली । भारतको जीडीपीको वृद्धि दर तेश्रो त्रैमासमा बढेर ६.३ प्रतिशत पुगेको छ । बिहीबार भारत सरकारको तर्फबाट जीडीपीको वृद्धि दर सार्वजनिक गरिएको इकोनोमीक टाइम्सले जनाएको छ । 

इकोनोमिक ग्रोथको ताजा आँकडा सिंगो भारतका लागि सुखद खबर रहेको समाचार उल्लेख छ । अप्रील जुन(दोश्रो) त्रैमासमा भारतको जीडीपी वृद्धि दर ५.७ प्रतिशतमा झरेको थियो । यो वृद्धिदर विगत तीन वर्षकै सबैभन्दा कम रहेको भन्दै सर्वत्र चिन्ता व्यक्त गरिएको थियो । 

पछिल्लो पाँचवटा त्रैमासमा लगातार भारतको जीडीपी ग्रोथ रेट ओरालो यात्रा गरिरहेको थियो । तर, तेश्रो त्रैमासमा भारतको जीडीपी ग्रोथ रेट बढेर ६.३ प्रतिशत पुुगेपछि देशमा उत्साह देखिएको बताइएको छ । 

नोटबन्दी र जिएसटीको असरबाट अर्थव्यवस्थामा देखिएको सुस्तता तेश्रो त्रैमासको वृद्धिदरले अब सकिएको संकेत गर्ने त्यहाँका अर्थशास्त्रीहरुले बताएका छन् । आगामी दिनमा जीडीपीको वृद्धि दर अझ तीव्र हुने दाबी समेत गरिएको छ ।