काठमाण्डौ । आर्थिक सर्वेक्षणको क्रममा छिमेकी राष्ट्र भारतले आर्थिक वर्ष २०१८–१९ मा ७ देखि ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपणपछि भारतको सेयर बजारले ऐतिहासिक उचाई चुमेको छ । 

केही साताअघिदेखि निरन्तर उछालको यात्रा तय गरिरहेको सेन्सेक्स सोमबार एकैदिन २३२.८१ अंकले बढेर ३६२८३.२५ अंकको ऐतिहासिक उचाई चुमेको छ । यस्तै, निफ्टी समेत ६०.७५ अंक वृद्धि भई १११३०.४० अंकको नयाँ रेकर्ड बनाएको छ । 

सोमबारको सुरुवाती कारोबारमा सेन्सेक्स ३०७ अंकले बढेर सर्वाधिक ३६३५६.९९ अंकको उचाईमा पुगेको थियो । 

नेशनल स्टक एक्सचेञ्जको कारोबार मापक निफ्टी ७६.९० अंकको उछालको साथमा हालसम्मकै सर्वाधिक १११४६.५५ अंकको उचाईमा पुग्यो । 

त्यहाँको संसदमा पेश हुन लागेको आर्थिक समीक्षा र फेब्रुअरीमा पेश हुन लागेको बजेट भन्दाअघि नै लगानीकर्ताहरुमा बलियो आशा देखिएपछि यसले बजारलाई उछालको गतिमा कुदाइरहेको भारतीय मिडियाहरुले जनाएका छन् । 

मुम्बई सेयर बजारका ३० सेयरहरुको सूचक सेन्सेक्सले जनवरी २४ मा कायम गरेको ३६२६८.१९ अंकको रेकर्डलाई समेत तोडिदिएको छ । 

प्रारम्भिक आँकडा अनुसार गत हप्ताको आइतबार विदेशी लगानीकर्ताले ९३७.३१ करोड भारु बराबरको लगानी खन्याएका थिए । 

भारतमा सेयर बजारले उछालको गति लिनुमा त्यहाँका कतिपय विश्लेषकहरुले एशियाली बजारको मिश्रित प्रदर्शन र वाल स्ट्रीट शुक्रबार उछालको गतिसहित बन्द भएको प्रभाव समेत देखिएको दाबी गरेका छन् । 

छिमेकी  देश भारतमा सेयर बजारमा उछाल आइरहँदा नेपाली लगानीकर्ताहरु पनि बजार कहिले बढ्ने हो भनेर पर्ख र हेरको रणनीतिका साथ बसिरहेका छन् । यहाँका केही विश्लेषकहरुले नयाँ सरकार गठनको केही समयपछि बजारमा उछाल आउने प्रक्षेपण समेत गर्न  भ्याइसकेका छन् । तर, अब बन्ने सरकारले आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने भएकोले नेपालको सेयरबजारमा समेत ढिलोचाँडो उछाल आउने प्रष्टै देखिन्छ ।