काठमाण्डौ । भारतमा एकै महिना ४१ लाख बढी डिम्याट खाता खोलिएको छ ।

भारतको सेन्ट्रल डिपोजिटरी सर्भिस र नेशनल सेक्युरिटी डिपोजीटरीका अनुसार सन् २०२३ को डिसेम्बर महिनामा ४१ लाख ७८ हजार डिम्याट खाता खोलिएको हो । 

एक महिनाअघि यो संख्या २७ लाख ८१ हजार र एक वर्षअघि २१ लाख थियो । भारतमा कुल डिम्याट खाताको संख्या भने १३ करोड ९३ लाख पुगेको छ । जुन एक महिना अघिको तुलनामा ३.१ प्रतिशत र एक वर्षको तुलनामा २८.६६ प्रतिशत बढी हो । 

भारतीय सेयर बजारमा निरन्तर भईरहेको वृद्धिले पूँजी बजारप्रति आम मानिसको आकर्षण बढेको छ । यसका साथै आईपीओमा आएको बढोत्तरी र नयाँ सूचीकृत कम्पनीहरुले दोस्रो बजारमा गरेको राम्रो प्रदर्शनका कारण सेयर बजारप्रति भारतीय लगानीकर्ताको विश्वास वृद्धि भएको देखिन्छ ।  

कुल जनसंख्याको आधारमा हेर्ने हो भने नेपालमा डिम्याट खाता खोल्ने संख्या भारतको भन्दा धेरै छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको कुल २ करोड ९१ लाख ६४ हजार ५७८ छ । सिडिएस एण्ड क्लियरिङका अनुसार नेपालमा डिम्याट खाताको संख्या ६० लाख ६६ हजार ०९२ छ । जुन कुल जनसंख्याको २१ प्रतिशत हुन आउँछ । 

कुल जनसंख्या १ अर्ब ४४ करोड १७ लाख १९ हजार ८५२ रहेको भारतमा डिम्याट खाताको संख्या १३ करोड ९३ लाख छ । जुन कुल जनसंख्याको ९.६ प्रतिशत हुन्छ । 

यसरी कुल जनसंख्याको अनुपातमा हेर्ने हो भने भारतको तुलनामा नेपालमा डिम्याट खाता खोल्ने अनुपात धेरै छ । -एजेन्सी