काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नोटबन्दीको निर्णयपछि त्यहाँको कारोबार शैलीमा निकै ठूलो परिवर्तन आएको छ । नोटबन्दीले भारतको अर्थतन्त्र मात्रै हल्लाइदिएन, त्यहाँको कारोबार शैलीमा समेत कायापलट गरिदियो । नोटबन्दीको घोषणा हुँदै गर्दा मोदी सरकारका अधिकारीहरुले पूरा भारतलाई नगदरहित बनाउने उद्देश्य समेत रहेको बताउने गरेका थिए । डिजिटल कारोबार बढाउन भारत सरकारले गत वर्षदेखि नै कैयन आक्रामक योजना तथा अभियानहरु संचालन गरिरहेको छ । भारतीय मिडियाहरुका अनुसार मोदी सरकारले निकट भविष्यमै अर्को निकै ठूलो निर्णय गर्न सक्नेछ, त्यो हो चेकबन्दी गर्ने । अर्थात कारोबारलाई पूर्ण रुपमा चेकरहित बनाउने । सरकारले सबै खालका कारोबारलाई पूर्ण रुपमा डिजिटलाइजेसन गर्ने उद्देश्यले चेकबन्दीको निर्णय लिन लागेको स्रोतहरुलाई उल्लेख गर्दै मिडिया रिपोर्टमा दाबी गरिएको छ । 

कन्फीड्रेसन अफ अल इण्डिया ट्रेडर्सका महासचिव प्रवीण खण्डेवालले समाचार एजेन्सी पीटीआईलाई भनेका थिए–‘डिजिटल कारोबारलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सरकारले निकट भविष्यमै चेक बुक व्यवस्थाको अन्त गर्नसक्ने धेरै संभावना छ ।’

खण्डेवालाले ‘डिजिटल रथ’ नामको एप्सको लञ्चिङको क्रममा यस्तो संभावना व्यक्त गरेका थिए । कन्फीड्रेसन अफ अल इण्डिया ट्रेडर्स र मास्टरकार्ड मिलेर भारतमा एक विशेष कार्यक्रम संचालन गरिरहेका छन्, जसको उद्देश्य कारोबारीहरुलाई डिजिटल कारोबारको तरिका बताउने र नगदरहित अर्थतन्त्रलाई बढावा दिने हो । उनले भनेका छन्–‘भारत सरकार करेन्सी नोटको छपाईमा २५ हजार करोड भारु खर्च गर्छ । नोटको सुरक्षा तथा व्यवस्थापनका लागि थप ६ हजार करोड भारु खर्च हुन्छ । अर्कोतर्फ, बैंकको डेबिट कार्ड पेमेन्टका लागि १ प्रतिशत र क्रेडिट कार्डका लागि २ प्रतिशत चार्ज लगाउँछ । सरकारले यो प्रक्रियामा परिवर्तन गरी बैंकहरुलाई सोझै सहायता दिन चाहन्छ, जसबाट यी सबै चार्जहरु हटाउन सकियोस् ।’ 

चेक बुक प्रतिबन्धित गरेपछि यसले नगदरहित अर्थतन्त्रलाई के सहयोग गर्ला त ? अहिले भारतमा अधिकांश व्यापारिक लेनदेन चेकमार्फत नै हुने गरेको छ । अहिले पनि त्यहाँको ९५ प्रतिशत कारोबार चेक तथा नगदमार्फत नै हुने गरेको छ । नोटबन्दीपछि नगद कारोबारमा निकै कमी आएको छ भने चेकबाट हुने कारोबार बढेको छ । भारत सरकारले यो आर्थिक वर्षको अन्तसम्म २.५ खर्ब बराबरको डिजिटल कारोबारको लक्ष्य लिएको छ । यो टार्गेटलाई पूरा गर्नका लागि पनि सरकारले निकट भविष्यमै चेक बुकको प्रयोगमा प्रतिबन्ध लगाउनसक्ने इण्डिया टाइम्सको एक रिपोर्टमा उल्लेख छ ।