काठमाण्डौ । विश्व बजारबाट प्राप्त नकारात्मक संकेतका कारण भारतको सेयर बजारमा यो हप्ता लगातार दोश्रो दिन मंगलबार समेत भारी गिरावट भएको छ । सुरुवाती कारोबारमा त्यहाँको बजार परिसूचक सेन्सेक्स १२७४ अंक घटी ३३४८२.८१ अंकमा पुुगेको छ । यस्तै, अर्को बजार सूचक निफ्टी ३९० अंक घटी १०२७६.३० को विन्दूमा पुुगेको छ । एकै दिनमा मंगलबार भएको गिरावट गत ६ महिनाकै सबैभन्दा ठूलो गिरावट हो । 

यसअघि सन् २०१६ को ११ नोभेम्बरमा सेन्सेक्स १६८९ भन्दा बढीले घटेको थियो । मंगलबारको गिरावटका कारण केही घण्टाभित्रै लगानीकर्ताको ५ लाख करोड रुपैयाँ डूबेको भारतीय मिडियाहरुले जनाएका छन् । यो हप्ता त्यहाँको पहिलो कारोबार दिन सोमबार समेत बजारमा ठूलै गिरावट आएको थियो । 

त्यहाँको सरकारले सेयरबाट हुने मुनाफामा लंग टर्म क्यापिटल गेन ट्याक्स लगाएपछि यसले बजारलाई लगातार घटाइरहेको छ । तर, सरकारका जिम्मेवार मन्त्रीहरुले भने नयाँ कर प्रणालीले भन्दा पनि विश्व बजार नै गिरावटको मार व्यहोरिरहेकोले त्यसैको असर भारतमा समेत देखिएको हो । अमेरिकाको सेयर बजार पनि ६ वर्षकै न्यून विन्दूमा झरिसकेको छ । अन्य शक्तिशाली देशका बजारमा समेत गिरावट आइरहेको छ ।

मंगलबार भारतको बजारको सुरुवाती कारोबारमा सानादेखि ठूला सेयरको बिक्री चाप बढेको देखिएको छ । बजारमा चौतर्फी गिरावट देखिएपछि ३० कम्पनीको सेयर सूचकमा रातो पोतिएको छ । सबैभन्दा ठूलो गिरावट टाटा मोटर्स, एक्सिस बैंक, एस बैंक, टाटा स्टील र एसबीआई बैंकमा देखिएको छ । 

अरुतिर पनि बिजोग
अमेरिकी बजारमा भइरहेको भारी गिरावटको असर एशियाली देशका बजारहरुमा समेत देखिन थालेको छ । मंगलबार जापानको बजार परिसूचक निक्केई ५.२७ प्रतिशतले घटेर २१४८६ विन्दूमा सीमित भएको छ । 

यस्तै, हाल कोरियाको बजारको पनि छ । यहाँको बजार इण्डेक्स कोस्पीमा पनि १.३३ प्रतिशतको गिरावट एउटै दिन देखिएको छ । यस्तै, ताइवान इण्डेक्समा पनि ५१० अंकको गिरावट देखिएको छ । 

सोमबार अमेरिकी बजारमा ६ वर्षकै ठूलो पहिरो गयो । यो दिन मात्रै अमेरिकी बजार परिसूचक ७ प्रतिशतले घट्न पुुग्यो । अमेरिकाकै लगानीकर्ताको करोडौ डूबेपछि यसको प्रभाव विश्वभरका बजारहरुमा देखिएको छ ।