काठमाण्डौ । भारतीय वित्तमन्त्री अरुण जेट्लीले आर्थिक वर्ष २०१८ १९ का लागि पूर्ण बजेट प्रस्तुत गरेका छन्,जसमा मेक इन इण्डियाको अभियानलाई बढावा दिने कैयन  घोषणाहरु गरिएको छ । 

यहीकारण भारतले आयातित केही सामानको भन्सार दर समेत  बढाउने घोषणा गरेको छ, जसको असर नेपाली बजारमा समेत देखिनेछ । 

भारतले मोवाइल फोन, कार, बाइकका अलावा कैयन विदेशबाट आयात हुने बस्तुमा लाग्दै आएको भन्सार दर बढाएको छ । यसले आउँदा दिनमा त्यस्ता वस्तुहरुको मूल्य बढ्नेछ । 

बजेटमार्फत मोवाइल फोनको भन्सार १५ प्रतिशतबाट बढाएर २० प्रतिशत कायम गरिएको छ । यस्तै, स्मार्टवाच र लगाउनसकिने अन्य डिभाइसमा लाग्दै आएको भन्सारलाई समेत बढाएर २० प्रतिशत नै पुर्याइएको छ । 

यस्तै, टेलिभिजनको केही पाटपूर्जाको भन्सार दर ७.५ र १० प्रतिशतबाट बढाएर १५ प्रतिशत  बनाइएको छ ।

फलफूल तथा सागसब्जी, सुनचाँदी, चश्मा, परफ्यूम, सौन्दर्य प्रशाधन, टक तथा बसको  रेडियल टायर, रेशमी कपडा, जुत्ता, हिरामोतीका गहना एलसिडी तथा एलइडी टिभी महंगो भएको छ ।

यस्तै, लग्जरी कार तथा तिनको मेशिनरीको भन्सार दर पनि बढेको छ । फर्निचर, गद्धा, ओलिभ आयल, खाद्य तेल लगायतका भन्सार पनि बढेको छ । भन्सार बढेका यी वस्तुहरुमध्ये अधिकांश नेपालले समेत भारतबाटै आयात गर्छ, जसका कारण नेपालमा समेत ती वस्तुको भाउ बढ्नेछ ।