काठमाण्डौ । नोवेल पुरस्कार विजेता अर्थशास्त्री अभिजित बनर्जीले भारतको अर्थव्यवस्था विश्वकै सबैभन्दा खराब प्रदर्शन गर्ने  अर्थव्यवस्थामध्येको एक रहेको टिप्पणी गरेका छन् । 

उनले सो क्रममा समस्याबाट पार पाउन सरकारले घोषणा गरेको आर्थिक तथा राहात प्याकेज पर्याप्त नभएको समेत बताए । तथापि उनले भनेका छन् कि भारतको आर्थिक वृद्धिदर जुलाई सेप्टेम्बर त्रैमासमा सुधार हुनेछ । 

अर्थशास्त्री बनर्जीले भारतको अर्थव्यवस्था कोभिड १९ को प्रकोपभन्दा अगाडिदेखि नै सुस्ताएको समेत टिप्पणी गरेका छन् । 

उनले भनेका छन्-'भारतीय अर्थव्यवस्था विश्वमै खराब अर्थव्यवस्थामध्येको एक हो ।' 

बनर्जीका अनुसार सन् २०२१ को भारतको आर्थिक वृद्धिदर यो वर्षको भन्दा केही राम्रो हुनेछ । 

उनले भारत सरकारले ल्याएको प्रोत्साहन प्याकेज अपर्याप्त रहेको उल्लेख गर्दै भनेका छन्-'भारतको आर्थिक प्रोत्साहन अत्यन्त सीमित थियो । यो त बैंकको तर्फबाट मात्र प्रोत्साहन रहेको थियो । मलाई लाग्छ, चाहेको भए हामीले अझै केही बढी गर्न सक्थ्यौं । प्रोत्साहन कार्यक्रमबाट कम आय हुने वर्गका मानिसहरुको खपततर्फको खर्चमा कुनै बढोत्तरी भएन, किनभने सरकार यस्ता वर्गका मानिसहरुको हातमा पैसा दिन अनिच्छुक थियो ।' 

मुद्रास्फितिको बारेमा बनर्जीले भनेका छन् कि भारतको वृद्धि रणनीति बन्द अर्थव्यवस्थामा हुने खालको रहेको छ । यस्तो अवस्थामा सरकार धेरै माग पैदा गर्नतर्फ लाग्छ, जसका कारण उच्च वृद्धिसँगै मुद्रास्फिति समेत बढ्छ । उनले भनेका छन्-'भारतमा २० वर्षसम्म उच्च मुद्रास्फिति तथा उच्च वृद्धिदरको अवस्था रह्यो । देशलाई पछिल्लो २० वर्षमा स्थिर मुद्रास्फितिका कारण निकै ठूलो लाभ पनि भयो ।' 

उनले भारतले विश्वस्तरमा अझै बढी प्रतिस्पर्धी हुन आवश्यक रहेको समेत औंल्याएका छन् । 
-इकोनोमिक टाइम्सबाट